दशैँमा सन्तुलित खाना खान चिकित्सकको सुझाव

Newslaya Home

दशैँमा सन्तुलित खाना खान चिकित्सकको सुझाव

शनिबार १८, असोज २०७६

काठमाडौँ । दशैँ भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक मासु खाने चाडका रूपमा लिइन्छ । तर अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् ।

चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नुपरेको छ ।

पेटरोग विशेषज्ञ डा.भूपेन्द्रकुमार बस्नेतले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताए । उनले दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने जानकारी दिए ।