बालविवाह गर्ने जोडीसहित सात जना पक्राउ

Newslaya Home

बालविवाह गर्ने जोडीसहित सात जना पक्राउ

शुक्रबार १७, असोज २०७६

सल्यान । बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट सात जनालाई पक्राउ गरेको छ ।

बालविवाह हुँदै गरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्धकुमाख गाउँपालिकाको वडा नम्बर ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुला र बेहुलीसहित उनीहरुका आमाबुवा र पण्डित छन् ।

१९ वर्षीय बेहुला र १९ वर्षीया बेहुली सहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका बुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट घर भइ हाल शिद्धकुमाख गाउँपालिका–४ बस्दै आएका पण्डित २५ वर्षीय नवीन आचार्य पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार उनीहरुलाई दुलाहाको घरमा विवाह समारोह भइरहेको बेला पक्राउ गरिएको हो ।

बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।