खसीको मासु अभाव, भाउ भने बढेको बढै

Newslaya Home

खसीको मासु अभाव, भाउ भने बढेको बढै

शुक्रबार १७, असोज २०७६

झापा । दशैंमा फूलपातीको दिनदेखि देशै भर मासु खाने चलन छ । सोही कारण यस समयमा मासुको खपत बढि हुन्छ । तर, झापामा खसीको मूल्य वृद्धिले मासुको अभाव भएको छ । खसीको मूल्य अत्याधिक बढेपछि झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजारमा सञ्चालित मासु पसल बन्द हुन थालेका छन् ।

जिल्ला मासु व्यवसायी संघ झापाका सदस्य गोविन्द तिम्सिना कृषिथोक बजारमा मासु पसल गर्छन् । यस वर्ष बजारमा खसीको मूल्य बढेकाले पसल बन्द गर्नु परेको तिम्सिना बताउँछन् ।

झापाको दमक, शनिश्चरे, धुलाबारी, सुरुङ्गा, डाँगीबारी लगायतका बजारमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलामबाट खसी बिक्रीका लागि ल्याइन्छ । तर, गत वैशाखदेखि काठमाडौंका व्यापारी झापाका बजारमा आफैँ आएर खसी खरीद गर्न थालेका छन् । अहिले पूर्वी पहाडबाट झापा ल्याइएका ८० प्रतिशत खसी काठमाडौंका व्यापारीले किन्ने गरेको कृषिथोक बजारका अर्का व्यापारी मोहोम्द असिलुल शेख बताउँछन् ।

स्थानीय व्यापारीले भन्दा काठमाडौंका व्यापारीले महंगो मूल्यमा खसी किन्ने गरेकाले आफूले महंगो मूल्य हालेर खसी किन्न नसकेको शेखले बताए ।

मासु व्यावसायी संघ झापाले गत भदौ १ गतेदेखि लागू हुने गरी मासुको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ वृद्धि गरेर ८ सय ५० रुपैयाँ निर्धारण गरेको छ । अहिले कृषिथोक बजारमा खसीको मासु ८५० रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ । मूल्य वृद्धि भए पनि व्यावसायी घाटामा जाने शेखको भनाई छ ।

खसी व्यापारीसम्म आइपुग्दा विचौलियाको हावी हुने गरेकाले पनि मूल्य वृद्धि भएको मासु व्यापारी बताउँछन् ।

जिल्लामा मासुको खपत बढ्दै गए पनि मागअनुसार पर्याप्त हुन सकेको छैन । बजारमा खसीको मूल्य बढ्दै गएकाले व्यवसायी संकटमा पर्न थालेका छन् । यस वर्ष झापाका अधिकांश बजारमा मासुको अभाव हुने व्यवसायीको भनाई छ ।