झापामा ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ बन्ने पक्का

Newslaya Home

झापामा ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ बन्ने पक्का

शुक्रबार १७, असोज २०७६

झापा । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जीपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ बन्ने पक्का भएको छ । उक्त पार्क निर्माणका लागि बिहीबार काठमाडौँमा दुई पक्षबीच सम्झौता भएको हो ।

निर्माण कम्पनी दमक क्लिन इन्डस्ट्रियल पार्क प्रा. लि.का तर्फबाट गोविन्द थापा र लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

केही समय अघि लगानी बोर्डले चिनियाँ लगानी स्वीकृत गरेसंगै उक्त पार्क बन्ने चर्चा चलेको लामो समयपछि अबको केही दिनमा प्रधानमन्त्री ओलीले उक्त निर्माणका लागि शिलान्यास गर्न लागेको बताइएको छ ।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका एकीकृत जमिनमा बनाउन प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ पहिलो चरणको ६४ अर्ब रुपैयाँ लगानी बोर्डले स्वीकृत गरेको हो ।

तीन वर्ष अघिदेखि उक्त पार्क निर्माण हुने हल्ला चल्दै आएको थियो । करिब दुई वर्ष अघि चीनबाट आएको एउटा टोलीले पार्क बनाउने स्थानको अवलोकन गरेर फर्केको थियो ।

पार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ बनाउने जिम्मा लगानी बोर्डको बैठकले एउटा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिसकेको छ ।

औद्योगिक पार्कका लागि पहिलो चरणमा ७ सय बिघा जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृती दिएको छ ।

पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृती दिएको हो ।

पहिलो चरणको काम सकेपश्चात थप जग्गामा अरु कामका लागि तीन खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको छ ।