रामधुनी मन्दिरले सुरु गर्यो गोधन अर्घ्य प्रशोधन

Newslaya Home

रामधुनी मन्दिरले सुरु गर्यो गोधन अर्घ्य प्रशोधन

शुक्रबार १७, असोज २०७६

प्रकाशपुर । सुनसरीमा रहेको रामधुनी मन्दिरले गोधन अर्घ्य प्रशोधन गर्न सुरु गरेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर ब्यवस्थापन समितिको ब्यवस्थापनमा गोधन अर्घ्य सुरु गरेको हो । समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार एक लाख रुपैयाँमा प्रशोधन गर्ने मेसिनहरु जडान गरेर प्रशोधनको काम थालिएको हो ।

रामधुनी बाबा बनखण्डी मन्दिर ब्यवस्थापन समिति गठन गरेर ४ बर्ष अघि सात वटा गाई गाँउलेहरुसँग मागेर गाईपालन सुरु गरेकोे कार्कीले बताए । हाल ५२ वटा लोकल गाईहरु संरक्षणमा रहेको मन्दिरका सचिब राम कोइरालाले बताए । अध्यक्ष कार्कीले भने,‘जङ्गलका जरिबुटी खाएका गाईहरुको गहुत बिहानै थापेर मेसिनको साहाराले प्रशोधन गरेर गोधन अर्घ्य बनाउन सुरु गरेका छौ ।’

गोधन अर्घ्यको पछिल्लो समय माग बढिरहेकाले उत्पादनलाई बढाएर लाने कार्कीले बताए । ‘हाल दैनिक १८ लिटर गहुत संकलन भई रहेको छ । प्रशोधन गर्दा ४० प्रतिशत मात्रै बस्ने गरेको छ ।’ कार्कीले भने, ‘माग धेरै आएको छ चाडै औपचारीक कार्यक्रम गरेर बिक्रि वितरण गर्छौ ।’ समितिले प्रति लिटर पाँच सय रुपैयामा विक्रि गर्ने तयारी गरीरहेको छ ।

हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मीका रुपमा मानिन्छ । गहुत, गोबरलाई हरेक पुजा पाठ गर्दा लिप्ने र चोखाउन गहुत छर्किने र शुद्धकार्यमा गँहुतको प्रयोग हँुदै आएको छ । पछिल्लो समय गँहुत प्रशोधन गरेर खादा ग्यास्ट्रिक, सुगर लगायत पेट सम्बन्धित रोगलाई आराम गर्ने विज्ञहरुले बताए सँगै प्रशोधन गाईको गहुतकोे माग बढ्दो छ ।

सुनसरीको रामधुनि नगरपालिका–४ रामधुनि जंगलमा अवस्थित रामधुनि मन्दिर बराक्षेत्र नगरपालिका र भोक्रहा नरसिङ्ग गाउँपालिकाको सिमा जङ्गलको बिच भागमा अवस्थित छ । श्री रामधुनी मन्दिर हिन्दु धर्मावलम्वीहरुको पौराणिक भनाई अनुसार त्रेता युगमा श्री रामचन्द्र यस तपोबनको पूण्यस्थलमा बनबासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिड्दा आफ्ना पाऊका एक जोर खराऊ छाडी गएको भन्ने कथन छ ।

रामधुनी मन्दिर आफ्नै किसीमको महत्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित मन्दिर हो ।

रामनवमी विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्री, तीज आदि जस्ता पर्वहरुमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको पाइन्छ ।