दक्षिण कोरियामा शक्तिशाली आँधीका कारण छ जनाको मृत्यु

Newslaya Home

दक्षिण कोरियामा शक्तिशाली आँधीका कारण छ जनाको मृत्यु

बिहीबार १६, असोज २०७६

काठमाडौं । दक्षिण कोरियामा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार आँधीका कारण कैयौं हराइरहेका छन् ।

उनीहरूको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक वर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनीसमेत दिइएको थियो ।

आँधीका कारण मृत्यु हुनेमा एक जना ७० वर्षीया महिला रहेको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उनलाई शक्तिशाली हावाले उडाएको थियो । अत्यधिक वर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ ।

अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा ६ सयभन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् ।