महराको बलात्कार काण्ड खुलासा गर्ने पत्रकार सिवाकोटीलाई पुलिसको सुरक्षा निगरानी

Newslaya Home

महराको बलात्कार काण्ड खुलासा गर्ने पत्रकार सिवाकोटीलाई पुलिसको सुरक्षा निगरानी

बिहीबार १६, असोज २०७६

काठमाण्डौ । रोशनी शाहीले सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताएका छन् । । सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन। पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए ।

बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन् ।

सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईन हाम्रा कुरा डटकममा प्रकाशित गरेका थिए। त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिएका छन् ।

मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन्। आइतबार महराले आफूलाई कुटपीट र बलात्कार गरेको आरोप उनको थियो। त्यो दिन उनले प्रहरीलाई समेत बोलाएर आफूमाथि भएको घटनाबारे बताएकी थिइन् । तर प्रहरीले अनुसन्धान अघि बढाएको छैन ।