विराटनगरमा सिटी सफारी चार्ज विवादमा महिलामाथि चक्‍कु प्रहार

Newslaya Home

विराटनगरमा सिटी सफारी चार्ज विवादमा महिलामाथि चक्‍कु प्रहार

बिहीबार १६, असोज २०७६

विराटनगर । विराटनगरमा सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा एक सिटी सफारी चालकले बिहीबार बिहान महिलामाथि चक्‍कु प्रहार गरेका छन् ।

विराटनगर–१० सोमबारे हाटमा स्थानीय ३३ वर्षीय मेघराज मण्डलले चक्‍कु प्रहार गर्दा ३४ वर्षीय मायादेवी मण्डल घाइते भएको मोरङ प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकी मायादेवीको कोसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीकाअनुसार मेघराज र मायादेवी छिमेकी हुन् ।

मेघराजले चलाउँदै आएको सिटी सफारी आफ्नो घरमा जोडेको विद्युतमा लुकाएर चार्ज गरिरहेको देखेपछि छिमेकी मायादेवी र मेघराजकी आमाबीच विवाद भएको थियो । आमासँग विवाद भइरहेका बेला मेघराजले भने तरकारी काट्ने चक्‍कु ल्याएर मायादेवीको टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते मायादेवीले विद्युत महशुल बढी उठ्ने भएकाले सिटी सफारी चार्ज नगर्न आग्रह गर्दा आफूमाथि चक्‍कु प्रहार गरिएको प्रहरीलाई बताएकी छिन् । चक्‍कु प्रहार गरेर फरार बनेका मेघराजलाई भाग्दै गर्दा इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको छ ।

पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएका मेघराजका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।