दशैंमा इटहरीवासीलाई कसले दियो धुलो उपहार ?(भिडियोसहित)

Newslaya Home

दशैंमा इटहरीवासीलाई कसले दियो धुलो उपहार ?(भिडियोसहित)

बिहीबार १६, असोज २०७६

इटहरी । यतिखेर इटहरी चोक धुलहरीमा परिणत भएको छ । हजारौं मानिसहरु हिड्ने र गाडीहरु गुड्ने महेन्द्र तथा कोशी राजमार्गमा परेका खाल्डा पुर्नको लागि प्रयोग गरिएको गिटी, बालुवाका कारण धुलैधुलो भएको हो ।

खाल्डै खाल्डा परेको राजमार्ग मर्मत गर्न सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा समस्या निम्तिएको हो । वैशाख–जेठ देखि नै सडक भत्केर खाल्डै खाल्डा परेपनि मर्मत गर्न चासो दिइएको थिएन । भैसी नै आहाल बस्ने गरी खाडल परेपछि भने गिटी बालुवा हालिएको छ ।

यतिखेर कोशी राजमार्ग ६ लेन सडक आयोजनाको जिम्मामा छ । सडक बेलैमा बनाउन नसकेको आयोजनाले मर्मतमा समेत चासो नदिएको हो । महेन्द्र राजमार्ग भने सडक विभागको जिम्मामा छ । तुलनात्मक रुपमा यतिखेर कोशी राजमार्ग बढी भत्किएको छ ।

सडक भत्केर ठूला ठूला खाल्डा परिसक्दा पनि मर्मतमा चासो नदिएको भन्दै ६ लेन सडक परियोजनाप्रति सर्वसाधारणले आक्रोश पोखेका छन् । यस्तै इटहरी उपमहानगरप्रति पनि सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । तर मुख्य सडक आफ्नो क्षेत्राधिकारभित्र नपर्ने उपमहानगरपालिकाले जनाएको छ । राजमार्गमा मर्मत गर्नै नपाइने हुँदा सहन बाध्य भएको तर सडक मर्मतको लागि पहल गरिरहेको कार्यालयले जनाएको छ ।
इटहरीमा धुलो यो छोटो भिडियोमाः