बर्दियामा बाघको आक्रमण बढ्दै फेरि एक जनाको ज्यान गयो

Newslaya Home

बर्दियामा बाघको आक्रमण बढ्दै फेरि एक जनाको ज्यान गयो

बुधबार १५, असोज २०७६

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जना महिलाको ज्यान गएको छ ।

बाँसगढी नगरपालिका–२ राँझा घर भएकी ४० वर्षीया गंगा सलामी मगरलाई भगवती सामुदायिक वन नजिकै घाँस काटन गएका बेला पाटे बाघले आक्रमण गरेको थियो ।
बुधबार आक्रमणमा परि हात र घाँटीमा गम्भीर चोट लागेको सलामीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लाने क्रममा बमटैमा ज्यान गएको हो ।
अघिल्लो साता पनि भगवती सामुदियक वनमा घाँस काटन गएकी लक्ष्मी मल्ललाई बाघले आक्रमण गरि घाइते बनाएको थियो ।
हाल नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचार भईरहेको छ ।
मंगलबार दिउँसोको समयमा एउटा गोरु र ८ वटा बाख्रा मारेको स्थानीयले जानकारी गराए पछि बाघ हिंस्रक भएको हुन सक्ने भन्दै बर्दिया राष्ट्रिय निकुञ्जले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गरी तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने जानकारी गराएको छ ।
यसअघि भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि बढैयाताल गाउँपालिका र राजापुर क्षेत्रमा दुई जनाको ज्यान गएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जकै बाघको आक्रमणमा गेरुवा गाउँपालिकाको दङ्गपुर र ठाकुरबाबा नगरपालिकाको दुई जना गरि ७ महिनाको अवधिमा ५ जनाको मृत्यु भईसकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए छन् ।

निकुञ्ज भित्रका पाटे बाघले सामुदायिक वनमा समेत आक्रमण गर्न थालेपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्रका सामुदायिक वनभित्र प्रवेश नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।