विवाहको आश्वासनमा दिल्लीमा बेचिन पुगेकी एक नेपाली किशोरीको उद्धार

Newslaya Home

विवाहको आश्वासनमा दिल्लीमा बेचिन पुगेकी एक नेपाली किशोरीको उद्धार

बुधबार १५, असोज २०७६

काठमाडौं । विवाह गर्ने आश्वासनमा भारतको राजधानी दिल्ली पुगेकी नवलपरासी बर्दघाटकी एक किशोरीको प्रहरीले उद्धार गरेको छ ।

पीडित किशोरीलाई दिल्लीको आनन्द बिहार घर बताउने नन्दन नामक व्यक्तिले झण्डै एक महिना पहिले व्हाट्सएपमार्फत कुराकानी गरेर प्रलोभनमा पारेका थिए । नन्दन नामक ती व्यक्तिले किशोरीलाई विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए । पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् ।

दिल्लीको आनन्द बिहार रेलवे स्टेशनमा लिन आएको दलालले पीडित किशोरीसँगै पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए । त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिकासम्बन्धी काम गर्ने महिलाहरुसँग सहयोग मागेकी थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहयोगमा नन्दनलाई पनि पक्राउ गरेका छन् ।

दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुलासा भएको छ । प्रहरीले नन्दनलाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवासमा पठाएको थियो ।

सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।

दिल्लीमा उद्धार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।