नेपाल जिम्बाबेसँग पराजित

Newslaya Home

नेपाल जिम्बाबेसँग पराजित

बुधबार १५, असोज २०७६

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपाल जिम्बाबेसँगको दोस्रो खेलमा पनि पराजित भएको छ ।

इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।

तर, जवाफी ब्याटिङमा उत्रिएको नेपालले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रनमात्र बनाउन सक्यो । दोस्रो खेलमा केही सुध्रिएको नेपालले जिम्बाबेसँग ४० रनको हार बेहोर्न बाध्य भयो ।

जिम्बाबेका लागि कप्तान सिन विलियम्सले ३५ बलमा ५३ रनको बनाए । रायन बुर्लले आउट नभई २८ र पेटर मुरले २१ रनको योगदान गरेपछि जिम्बाबेले सो योगफल तयार गरेको थियो ।

नेपालका सोमपाल कामीले किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन मात्रै खर्चिएर २ विकेट हात पारे । सन्दीप लामिछानेले २ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिए ।

लक्ष्य पछ्याएको नेपालका विनोद भण्डारीले ३३, आरिफ सेखले २५ तथा करण केसीले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेनन् । सिंगापुरसँग शतक प्रहार गरेका कप्तान पारस खड्काले १२ रन मात्र जोड्न सके ।

ब्याटिङमा अर्धसतक प्रहार गरेका जिम्बाबेका कप्तान सिन विलियम्स नेपाली ब्याट्सम्यानका लागि घातक सावित भए । विलियम्सले ४ ओभरमा २१ रन मात्र खर्चिए नेपालका ३ ब्याट्सम्यानलाई पेवेलियन फर्काए ।

जितसँगै जिम्बाबे तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने नेपाल आज सिंगापुरसँग खेल्दैछ ।