प्रदेश–१ को पञ्चवर्षीय योजना सार्वजनिक

Newslaya Home

प्रदेश–१ को पञ्चवर्षीय योजना सार्वजनिक

बुधबार १५, असोज २०७६

विराटनगर । प्रदेश–१ योजना आयोगले पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममै ६ महीनाभित्रैमा आवधिक योजना निर्माण गरिसक्ने घोषणा गरेको प्रदेश सरकारले मंगलबार २०७६/७७–२०८०/८१ को आवधिक योजना सार्वजनिक गरेको हो ।

आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले यसको फ्रेमभन्दा बाहिर एक कदम पनि पाइला नचालिने बताए । विगतमा केन्द्रमा शतप्रतिशत कामहरू आवधिक योजनाको विपरीत हुने गरेको बताउँदै उनले बनेका योजनाहरू एकातिर थन्क्याएर मन्त्री र सचिवहरूले मनखुशी कार्यक्रम गरेकाले सफल हुन नसकेको बताए । प्रदेशमा त्यस्तो नहुने बताउँदै मुख्यमन्त्री राईले आवधिक योजनालाई पालना गर्दै कार्यक्रम र बजेट बनाइने उल्लेख गरे ।

स्थानीय तहसम्मै आवधिक योजना पुर्‍याउने बताउँदै उनले अहिलेसम्म बनाएका योजनाहरू र आवधिक योजनाको तादम्त्य मिलाउने काम स्थानीय तहहरूसँग पनि गरिने जानकारी दिए ।

उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्यादित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नत मानव संसाधन विकास र समतामूलक समाजको आधार निर्माण गर्नु जस्ता उद्देश्यहरू तय गरिएको छ ।