इन्जिनियरले झुलाएपछि सेवाग्राहीको मृत्यु भएको आरोप, इन्जिनियर बर्खास्त

Newslaya Home

इन्जिनियरले झुलाएपछि सेवाग्राहीको मृत्यु भएको आरोप, इन्जिनियर बर्खास्त

मङ्गलबार १४, असोज २०७६

भद्रपुर । इन्जिनियरको बर्खास्तगी र पाँच लाख क्षतीपूर्तीसँगै भद्रपुरमा केही दिनदेखि जारी तनाव साम्य भएको छ ।

नगरपालिकाका इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको भन्दै सोमबारदेखि तनावग्रस्त बनेको गौरादह नगरपालिकाको विवाद सेलाएको हो ।

गौरादह नगरपालिकाले मृतक उपभोक्ता समितिका अध्यक्ष धनवीर राजवंशीको परिवारजनलाई पाँच लाख रुपैयाँ क्षतीपूर्ती दिने र इन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सँगै राजवंशीलाई नगरपालिकाले सामाजिक अभियन्ताको सम्मान समेत दिने निर्णय गरेको छ ।

भुडिसिमल बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशीलाई आइतबार कार्यालयका इन्जिनियर क्षेत्रीले दुःख दिएका थिए ।

भुक्तानीका लागि गएका राजवंशीलाई इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएका थिए । निराश राजवंशी कार्यालय परिसरमै बेहोस भएपछि उनलाई नोबेल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

समितिका अध्यक्ष राजवंशीले असारभित्र निर्माण कार्य सम्पन्न गरी तीन लाख रुपैया भुक्तानीका लागि नगरपालिका पटकपटक धाउँदै आए पनि भुक्तानी नपाएपछि इन्जिनियरका कारण अध्यक्ष राजवंशीको मृत्यु भएको स्थानीयले आरोप लगाएका थिए ।