महरामाथि आरोप लगाउने रोशनीले बोली फेरिन्, ‘महरा यहाँ आएकै होइन, मेरो बुवाजस्तो मान्छे’

Newslaya Home

महरामाथि आरोप लगाउने रोशनीले बोली फेरिन्, ‘महरा यहाँ आएकै होइन, मेरो बुवाजस्तो मान्छे’

मङ्गलबार १४, असोज २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएको भनेर आरोप लगाउने रोशनी शाहीले बोली फेरेकी छिन् ।

उनले महरा आफ्नो बुवासरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले आरोप लगाएको र सबै गलत भएको बताएकी छिन् ।

नागरिकखबर डटकमलाई दिएको एक अन्तर्वार्तामा उनले महरा उक्त दिन नआएको बताए ।

उनले रिसको बेलामा बोलेको र सत्य नभएको बताएकी छिन् । उनले आफूले बोलेको कुरालाई पत्रकारले बंगाएर लेखिदिएको पनि आरोप लगाए ।

उनले महरासँग कर्मचारी समायोजनको विषयलाई लिएर रिस उठेको बताएकी छिन् । उनले भनेकीछिन्, ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन् ।’

उनले आफूलाई महराले फोन गरेको भने स्विकार गरेकी छिन् । शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पनि उक्त ईन्टरभ्यूमा बताएकी छिन् ।

आफैले बोलेको कुरालाई खण्डन गर्दै रोशनीले मिडियाकर्मी आफ्नो कोठामा सोध्दै नसोधि छिरेको र जबरजस्ती बोल्न लगाएको आरोप लगाइन् ।

संसद सचिवालयमा काजमा कार्यरत् रोशनीले केही समयअघि आत्महत्या प्रयाससमेत गरेकी थिइन् । उनी डिप्रेसनको औषधी लिइरहेको उनका श्रीमानले समेत जानकारी दिएका छन् ।