महराबाट बलात्कृत भएका भनिएका महिलाकी पतिले के भने ?

Newslaya Home

महराबाट बलात्कृत भएका भनिएका महिलाकी पतिले के भने ?

मङ्गलबार १४, असोज २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचार आरोप लगाउने महिलाका श्रीमान्ले पत्नीले लगाएको आरोपमा सत्यता नभएको बताएका छन् ।

‘मैले महरा सरलाई २०४७ सालदेखि नै चिनेको हुँ । उहाँको स्वभावको मान्छे होइन । उहाँबाट त्यस्तो कुकृत्य हुनै सक्दैन’, पीडित महिलाका पति चित्रबहादुर शाहीले भने, ‘मेरो उहाँप्रति पूर्ण विश्वास छ । त्यस्तो आरोप म कल्पनै गर्न सक्दिनँ । आरोपमा कुनै सत्यता छैन ।’

श्रीमान तनहुँ गएको बेला आइतबार राती मदिराले मातेर महराले आफूमाथि बलात्कार प्रयास गरेको ती महिलाले आरोप लगाएकी थिइन् । घटनाको विवरण सञ्चार माध्यममार्फत् सार्वजनिक भएको थियो ।

आफू महरासँग नियमित सम्पर्कमा रहेको उनले खुलाए । नेकपाका अन्य नेताहरुसँग समेत फोनमार्फत् सम्पर्कमा रहेको उनले खुलाए । घटनाबारे आफूले सञ्चार माध्यमबाट जानकारी पाएको शाहीले बताए ।

सोमबार साँझ घटना विवरण सार्वजनिक भएसँगै निवर्तमान सभामुख महरामाथि कानुन कारवाही प्रक्रिया अघि बढ्नुपर्ने दवाब बढेको छ । पीडित महिलाले आइतबार राति प्रहरीसँग श्रीमान्सँग सल्लाह गरेर जाहेरी दिने बताएकी थिइन् । तर मंगलबार साँझसम्म जाहेरी परेको छैन । लिखित जाहेरी अभावमा संगठित अनुसन्धान गर्न नसकिने प्रहरीले बताइरहेको छ ।