यी ६ एप एन्ड्रोइड फोनका लागि जोखिमपूर्ण

Newslaya Home

यी ६ एप एन्ड्रोइड फोनका लागि जोखिमपूर्ण

मङ्गलबार ०७, असोज २०७६

प्लेस्टोरमा रहेका कतिपय एपहरु प्रयोगकर्ताका लागि जोखिमपूर्ण हुने गरेको छ । गुगलको प्रमाणीकरण प्राप्त गरी प्लेस्टोरमा ठाउँ पाएका एपहरुले प्रयोगकर्तालाई हानी गर्ने गतिविधि गरेको पाइएको हो ।

साइबर सेक्योरिटी अनुसन्धानकर्ताहरुले हालै विभिन्न २४ वटा एन्ड्रोइड एपहरुमा भाइरसले आक्रमण गरेको खुलासा गरेका थिए । लाखौँ प्रयोगकर्ता रहेका ती एपमा हुने भाइरसले प्रयोगकर्ताका डिभाइसका डाटा चोरी गर्ने गरेको खुलासा भएको छ । त्यस्तै प्रयोगकर्तालाई हानी पूराउने अवाञ्छित क्रियाकलाप गरेको पाइएका कारण गुगलले पछिल्लोपटक विभिन्न ६ वटा यस्तै एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ ।

अहिलेसम्म ५० करोड पटक डाउनलोड भैसकेका चिनियाँ डेभलपर्सले निर्माण गरेका चारवटा भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन एपहरु र अन्य दुईवटा क्यामरा एपहरु गरि ६ वटा एपहरुलाई गुगलले हटाइदिएको हो । जसमा हटस्पट भिपिएन, फ्रि भिपिएन मास्टर, सेक्योर भिपिएन, सिएम सेक्योरिटी एपलक एन्टिभाइरस, सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एप रहेका छन् । यी एपहरुले स्मार्टफोनमा असंख्य ठगी विज्ञापनहरु पठाउने गरेको पाइएको छ । त्यस्तै अन्य दुई क्यामरा एपले पप अप्स विज्ञापनको सहायताले पैसा कमाउने गरेको भन्दै गुगलले हटाइदिएको हो । त्यस्ता विज्ञापनहरु पृष्ठभूमिमा चलिरहने र त्यसले डिभाइसको ब्याट्री खपत गर्नुका साथै डिभाइसलाई समेत स्लो गराउने गरेको पाइएको छ । प्रयोगकर्ताको अडियो रेकर्ड गर्ने अनुमति माग्ने लगायतका अनेकन अवाञ्छित गतिविधि समेत देखाउने गरेको पाइएको छ ।