‘विकासको काममा भ्रष्टाचार हुनु हुँदैन’ : राजकुमार कार्की

Newslaya Home

‘विकासको काममा भ्रष्टाचार हुनु हुँदैन’ : राजकुमार कार्की

आइतबार ०५, असोज २०७६

सुन्दरहरैचा नगरपालिका वार्ड नं. ९ विराटचोक क्षेत्रमा पर्छ । सुन्दरहरैचाको सबैभन्दा ठुलो हाटबजार यो वडामा लाग्ने हुँदा ढल, बाटो तथा बजार व्यवस्थापन गर्न वडालाई समस्या छ । जनप्रतिनिधि आएको दुई वर्षपछि वडाको प्रगती र अन्य विषयमा वडाध्यक्ष राजकुमार कार्कीसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छः

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
आजभोली निरन्तर रुपले जनताका काम तथा वडाको विकासका काममा व्यस्त छौं ।

अहिले वडाको विकासको अवस्था कस्तो छ ?
अहिले वडाको विकासको अवस्था राम्रो छ । अघिल्लो आर्थिक वर्षको कुरा गर्ने हो भने हामीले भौतिक पूर्वाधारमा बढी विकास गरेका छौं । यस्तै भौतिक पूर्वाधारको विकाससँगै हामीले सामाजिक विकास पनि गरेका छौं । सामाजिक विकासका लागि विभिन्न तालिमहरु सम्पन्न गरेका छौं । यस्तै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि विकास गरेका छौं ।

यो वडाको मुख्य समस्याहरु के–के छन् त ?
यो वडाको मुख्य समस्या भनेको बाटो, खानेपानी, सरसफाइ तथा बजार व्यवस्थापन हो । बर्षाको समयमा परेको पानी कता बगाउने भन्ने समस्या हुने गर्छ । ढलको समस्या यो वडाको मुख्य समस्या हो । त्यस्तै यहाँ कृषि बजार छ । प्रदेश एकमा एक विगाहा दुई कठ्ठा जग्गा लिएर आफ्नो स्वामित्वमा बजार सञ्चालन गर्ने बजार कृषि बजार हो । यसलाई कसरी व्यवस्थापन गर्ने भनेर समस्या भइरहेको छ । शिक्षाको विषयमा पनि यहाँ समस्या छ । सामुदायिक विद्यालयहरु ३–४ वटा छन् । यी विद्यालयहरुको गुणस्तरलाई कसरी कायम गर्न सकिन्छ भनेर चिन्तित छौं ।

यो वडाको विकास गरिरहँदा कुन विषयलाई पहिलो प्राथमिकता दिनुभएको छ त ?
पहिलो प्रथमिकता भनेको भौतिक पूर्वाधार नै छ । जनप्रतिनिधिहरु आइसकेपछि वडामा धेरै विकासका योजनाहरु माग भइरहेका छन् । जनताहरुको अपेक्षा पनि भौतिक पूर्वाधारका विकास नै भएकाले हामीले भौतिक पूर्वाधारलाई नै पहिलो प्राथमिकता दिएका छौं ।

यो वडाका आगामी योजनाहरु के–के छन् त ?
शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो अथवा अन्य आवश्यकता अनुसारका विषयलाई हेरेर हामी योजना तयार गरीरहेका छौं ।

वडाको समस्या र विकासको विषयमा कोसँग के आग्रह र माग राख्नु भएको छ ?
वडाको समस्या अन्त्यका लागि जाने भनेको नगरपालिका नै हो । नगरपालिकाबाट पनि समस्या समाधान गर्न सकिएन भने प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग पनि पहल गर्छौं ।

के भयो भने वडाको विकास चाँडो हुन्छ जस्तो लाग्छ ?
वडाको मात्र नभएर देशकै विकासका लागि सबै भन्दा पहिला भ्रस्टाचार नियन्त्रण हुन जरुरी छ । जति पनि वडामा बजेट आएको हुन्छ, त्यो बजेटलाई सदुपयोग गरिनु पर्छ । विकास निर्माणको काममा आफ्ना मान्छेलाई योजना दिएर कमिसन खाने सोच बनाइयो भने विकास कदापि हुन सक्दैन । विकास भयो भने पनि दीर्घकालिन हुदैन । आफ्नो कार्यकाल भरि निष्ठावान् भएर काम गर्नु पर्छ भनेर आफूलाई उभ्याउन सकियो भने वडा तथा देशको विकास चाँडो हुन्छ ।

अन्त्यमा आफ्ना वडावासीहरुलाई के भन्न चाहनुहुन्छ ।
म यस वडावासीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु किनकी हिजो चुनावमा लडिरहँदा मलाई साथ दिनुभयो । मैले चुनाव जितेर आएको दुई वर्ष हुँदा पनि मसँग कुनै अन्तरद्वन्द छैन । केही समस्या छ भने पनि म सँग आएर राख्नु भएको छ । मलाई यस्तो गर्दा राम्रो हुन्छ भनेर सुझाव दिनु भएको छ । सबैलाई साथ र मलाई विश्वास दिनु भएकोमा आभारी छु । आगामी दिनहरुमा पनि यो वडाको विकासमा लागि पर्ने छु ।