अरुण नदीबाट फर्कियो गोताखोर टोली, यात्रु र जिप पत्ता लाउन असफल

Newslaya Home

अरुण नदीबाट फर्कियो गोताखोर टोली, यात्रु र जिप पत्ता लाउन असफल

शनिबार ०४, असोज २०७६

संखुवासभा । अरुण नदीमा खसेर बेपत्ता भएको जीप र ६ जना यात्रु पत्ता नलागेपछि गोताखोर टोली फर्किएको छ । तीन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि टोली काठमाण्डौं फर्किएको हो ।

विहिबारदेखि खोजी कार्यमा जुटेको टोली असफल भएसँगै दुर्घटनामा परेकाहरु भेटिने सम्भावना कम भएको छ । बेपत्ता यात्रु र जिपको खोजी प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै गरिरहेका थिए ।

बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । जिप दुर्घटना बाट खाँदबारी नगरपालिका–९ का २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा श्रेष्ठ उनको दुई महिनाको छोरा समिर श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरू तीनैजना एकै परिवारका हुन् ।

त्यस्तै, खाँदबारी–९ का २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु जिल्ला खोटाङका २९ वर्षीय खबरमान पिठाकोटी र गाडी चालक खाँदबारी नगरपालिका–९ ढुंगेधाराका २५ वर्षीय सन्तोष बिक बेपत्ता भएका हुन् । बिरामी प्रमेश थापा मगर र समिर श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारीले रिफर गरेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जिप अक्करको भीरबाट ५० मिटर तल अरुण नदीमा खसेर बेपत्ता भएका हुन् ।