‘मेयरको भूमिका मैले निभाएको हुँ, मेरो श्रीमानले होइन,' : मन्जु भण्डारी, उपमेयर (भिडियो)

धरान । धरानमा मेयर तारा सुब्बाको मृत्युपछि उपमेयर मन्जु भण्डारीले कार्यवाहक मेयरको भूमिका लिइन् । उनले जिम्मेवारी लिँदै गर्दा काम गर्न नसक्ने पो हो कि भन्नेहरु पनि धेरै थिए । एकातिर उपमेयरकै जिम्मेवारी, त्यसमा पनि थपिएको मेयरको भूमिका, गाह्रै काम थियो । जसलाई आफूले कुशलतापूर्वक निभाएको उनी दावी गर्छिन् ।
खासगरी उनको भूमिकालाई उनका श्रीमान तथा नेकपा नेता मुरारी सुवेदीले पनि प्रभावमा पार्छन् भन्ने चर्चा चलेको थियो । सुवेदीले योजना बनाउने र श्रीमती भण्डारीले कार्यान्वयन गर्ने हो, उपमहानगरपालिका अब मुरारीले चलाउँछन् भन्ने सम्मका चर्चा चले ।
‘त्यसै त महिलालाई पहिलो दर्जामा राखिन्न, त्यसमाथि श्रीमानको कारण मलाई धेरैले अवमूल्यन गरेका थिए,’ उनले न्युजलयसँग भनिन्, ‘तर मैले कुनै निर्णय प्रक्रिया वा आफ्नो काममा श्रीमानको सहयोग लिइनँ, बरु पार्टी, वडाअध्यक्ष, जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहयोग लिएँ ।’
मंसिरमा उपनिर्वाचन हुँदैछ । निर्वाचनको लागि यतिबेला सिंगो देश धरान केन्द्रित छ । एउटै मात्र मेयरको चुनाव धरानमा यो उपनिर्वाचनमा हुँदैछ । त्यसैले नेकपा नेतृत्वको नगरका असफलता र त्रुटीहरुलाई विपक्षी नेपाली काँग्रेसले खोजी खोजी हतियारका रुपमा प्रचारमा ल्याइरहेको छ ।
हुन त यस अघि पनि भण्डारीको आलोचना नभएका होइनन् । मेला लगाउने विषयमा होस् वा सिक्किम भ्रमणको विषयमा होस्, उनको आलोचना भएको थियो । अहिले धरान खानेपानी पनि असफल भयो भन्दै नगरपालिका नेतृत्वको टिका टिप्पणी भइरहेका छन् । तर केही नपाएर आलोचना गर्नै नपर्ने विषयमा टिकाटिप्पणी र राजनीति भएको उनको भनाई छ ।
उनको नेतृत्वमा धरानले दीर्घकालिन महत्वका योजनाहरुसमेत बनाएको छ । यी सबै विषयमा न्यूजलयले उनीसँग गरेको संक्षिप्त भिडियो वार्ताः