ब्लाष्ट : जसले पूर्वमा मिडियाको व्यापार स्थापित गर्यो

Newslaya Home

ब्लाष्ट : जसले पूर्वमा मिडियाको व्यापार स्थापित गर्यो

- हिमाल दाहाल
बिहीबार ०२, असोज २०७६

ब्लाष्ट २५ वर्षमा प्रवेश गरेको छ । २५ वर्ष एउटा व्यवशायीक संस्थाको लागि निकै ठूलो कालखण्ड हो । संसारका ठूला ब्राण्डका २५ वर्षमा निकै ठूलो उचाइमा पुगेर पछि हराएका छन् । तर ब्लाष्ट पूर्वी नेपालको सबैभन्दा लोकप्रिय पत्रिका कायम छ आजसम्म ।

ब्लाष्टले धेरै आरोह अवरोहहरुको सामना गर्यो । प्रविधिको प्रतिकुलता, विद्युत् अभाव, द्वन्दकालको चेप, राज्यको अंकुशदेखि अहिले इन्टरनेटको युगसम्मको साक्षी बनेर उभिएको छ ब्लाष्ट । जसलाई यो २५ वर्षमा यो क्षेत्रमा के के भयो, सबै थाहा छ ।

लेटर प्रेस, अफसेट हुँदै वेव मेसिनमा कलर छापिन थालेको यो ब्रोडसिट पत्रिकाको यात्रा भने सहज थिएन । ब्लाष्ट बजारमा दैनिक बनेर आउँदै गर्दा स्थानिय मिडियाको नाममा केही साहित्यिक र राजनीतिक पत्रिका थिए । तर ती नियमित थिएनन् र तिनमा व्यवशायिकता पनि थिएन । कसैलाई खुसी बनाउनका लागि समाचार लेखिन्थे । थोरै छापिन्थ्यो । राष्ट्रिय पत्रिकामा गोरखापत्र ढिलो गरी आउँथ्यो ।

एक तरिकाले भन्ने हो भने पूर्वमा मिडियाको शुन्य बजारलाई यो पत्रिकाले चलायमान गर्यो । अहिले पूर्वमा दर्जनौं पत्रिका, एफएम र आधा दर्जन टेलिभिजन सञ्चालनमा छन् । मिडियाको व्यवशायिक गतिविधि बाक्लिएको छ । ‘तर जुन समयबाट ब्लाष्ट सुरु भयो, त्यो समयमा न त मिडियाको बजार थियो, न त पाठकहरु नै,’ ब्लाष्टका सम्पादक किशोरकुमार कार्की सम्झन्छन् ।

ब्लाष्टको सुरुवात धरानको वीपी प्रतिष्ठानसँग जोडिएको छ । त्यतीखेर धरानमा बेलायतले स्थापना गरेको घोपा क्याम्प थियो । त्यो बेलायतले उठाएर लाने भएपछि अमेरिकामा बस्ने भारतीयहरुले एक हजार शैय्याको मिसन कलेज चलाउने प्रस्ताव गरे ।

‘तर त्यो कलेजलाई धरानमा ल्याउन सरकारले नै चाहेन, त्यत्रो संरचना खण्डहरमा परिणत हुने सम्भावना बढ्यो,’ उनले भने, ‘त्यो कलेज ल्याउनको लागि ४८ सालमा राजकुमार कार्कीको नेतृत्वमा इन्डीपेन्डेन्ट युथ अर्गनाइजेसन धरान गठन भयो ।’

त्यो मुभमेन्टलाई अलि शशक्त बनाउन सञ्चारमाध्यमको आवश्यकता महसुस भयो । त्यसपछि बुलेटिनको रुपमा ब्लाष्ट टाइम्स प्रकाशन गर्न सुरु गरियो । त्यो साप्ताहिक रुपमा निकालिन्थ्यो ।

घोपा क्याम्पको संरचनालाई उपयोग गर्ने गरी ५० सालमा वीपी प्रतिष्ठान आयो । त्यसपछि ब्लाष्टको प्रकाशन पनि रोकियो । ‘पछि मैले ब्याचलर सकेपछि व्यवशायिक तरिकाले चलाउने विचार गरे,’ कार्की सम्झन्छन्, ‘गोपाल देवान, आनन्द श्रेष्ठ र दाई राजकुमार कार्कीकोे नेतृत्वमा सुरु गर्ने भनेर मेरो नाममा ५२ साल भदौ २३ गते पत्रिका दर्ता भयो ।’

कार्की दाजुभाईले आँट गरेर पत्रिका प्रकाशन गर्दा समाचार, विज्ञापन र पाठक थिएनन् । किन आँट गरेको भनेर हतोत्साहि बनाउने काम पनि मानिसहरुले गरे । तर असोज १ गतेदेखि पत्रिका प्रकाशन सुरु भयो । दुई सय प्रति छापियो सुरुमा । चिनेजानेका मानिस, संस्थालाई कार्कीले पत्रिकाको ग्राहक बनिदिन अनुरोध गर्दै पत्र लेखे । सबैले स्वीकार गरे ।

शुन्य बजारमा बिक्रि वितरणको लागि हकरलाई प्रोत्साहित गरियो । चोक बजारमा हकरले डुलाउँदै पत्रिका बेच्न थाले । दुई–तीन महिनामै ब्लाष्टले उचाई लियो । त्यतीबेला पत्रिकाको खर्च जुटाउन निकै गाह्रो थियो । विज्ञापन दिनुपर्छ भन्ने चेत व्यवशायीमा थिएन । खर्च जुटाउन धौ धौ हुँदा बुवासँग मागेको पैसा र साथीभाईसँगका सरसापटले पत्रिका जेनतेन चलाएको कार्की सम्झन्छन् ।

सुरुवातमा ब्लाष्टको आफ्नै प्रेस थिएन । अर्काको लेटर प्रेसमा काम हुन्थ्यो । पत्रिकाको सेटिङ गरेर छापिसक्दा बिहानको ९ बजे मात्र बजारमा जान्थयो । ५४ सालमा ब्लाष्टले पहिलो पटक आफ्नै लेटर प्रेस किन्यो । तर त्यसपछिका ब्लाष्टका दिनहरु झन् चुनौतिपूर्ण थिए ।

काम गर्छु भन्दै पत्रिकामा आएका खगेन्द्र श्रेष्ठ भन्ने व्यक्ति ब्लाष्टमा आएछन् । कार्कीले उनलाई समाचार सम्पादकमा नियुक्त गरेछन् । ‘तर वहाँको नियत काम सिकेर आफै पत्रिका प्रकाशन गर्ने रहेछ,’ कार्कीले भने, ‘पछि खुसुक्क ब्लाष्टको नाममा नेपाल औद्योगिक विकास कर्पोरेशन (एनआइडीसी) बाट ऋण झिकेर अफसेट किन्नुभएछ ।’

श्रेष्ठले ब्लाष्ट छाडेर आफ्नो अफसेट प्रेसबाट न्यू ब्लाष्ट टाइम्स नामक पत्रिका प्रकाशन सुरु गरे । भर्खरै लेटर प्रेस किनेको ब्लाष्टलाई क्वालिटि प्रेसर पर्यो । त्यतीखेर अफसेट किन्नु भनेको चानचुने कुरा थिएन । आठ–दश लाख रुपैयाको लगानी लाग्थ्यो । प्रेसमा त्यती लगानी गर्ने चासो मानिसको हुँदैनथ्यो । यहाँसम्म कि बैंकले समेत ऋण दिँदैनथ्यो ।

ब्लाष्टले धरानमा महेश श्रेष्ठको टिको अफसेटबाट छाप्न थाल्योे । ‘चार पेज छाप्न चार पल्ट मेसिनमा छिराउनुपथ्र्यो, पाँच हजार प्रति छाप्न २८ हजार पटक मेसिनमा छिराउनुपथ्र्यो, पत्रिका ९ बजे मात्रै बजारमा पुग्ने भयो,’ उनले भने ।

केही समय टिको प्रेसमा पत्रिका छापेपछि अब भने ब्लाष्टलाई अफसेट ल्याउनैपर्ने दबाब पर्यो । तर पैसा थिएन । बैंकले प्रेस ल्याउन ऋण दिने चलन छैन भन्यो भने उता एनआइडीसीले ब्लाष्टको नाममा पैल्यै ऋण दिइसकेकोले नमिल्ने जनायो ।

पछि झिनो आशाका साथ नेपाल बैंकका धरान मेनेजर गोबद्र्धन शाहले डकुमेन्ट क्षेत्रीय कार्यालय हुँदै केन्द्रमा पठाइदिए । त्यहाँ पनि डकुमेन्ट अड्किएपछि कार्कीले दबाब दिए । नेपाल बैंकका जीएमले कार्कीलाई विकल्पमा ओडी लिन सुझाए । कार्कीले भने, ‘हामीलाई त जसरी पनि पैसा चाहिएको थियो, किनकी प्रेसको लागि दुई लाख रुपैया अग्रिम दिइसकिएको थियो ।’

आठ लाख रुपैया ऋण लिएर मेसिन किनी ५५ सालदेखि ट्याब्लोइड सुरु गरेको ब्लाष्टले त्यसपछि भने गती लिन थाल्यो । न्यू ब्लाष्ट भनेर सुरु भएको पत्रिका एक वर्षकै हाराहारीमा बन्द भयो । जबकी ब्लाष्टले एक समय ३० हजार प्रतिभन्दा पनि बढी छाप्यो । दरबार हत्याकाण्डको समयमा र माओवादी द्वन्दकालमा पत्रिका ज्यादा बिक्थ्यो । कार्कीले भने, ‘कतिपय अवस्थामा त छापेको पत्रिकाले नपुगेर ब्लाष्टको फोटोकपिसमेत बिक्रि हुन्थ्यो ।’

पत्रिका ट्याबलोइडमा ब्लाक एण्ड ह्वाइटमा छापिन्थ्यो । टाउको भने रातो मसि प्रयोग हुन्थ्यो । ‘कहिलेकाहिँ रातो मसि सकिएर कालो रंगको शीर्षकको पत्रिका बजारमा आउँदा नक्कली ब्लाष्ट हो कि भनेर शंका गर्थे,’ उनी भन्छन् । अझै पनि धेरै मानिस पत्रिका कुनै पत्रिका देख्नासाथ ‘यो कुन ब्लाष्ट हो’ भनेर सोध्छन् । किनकी पत्रिका भनेर भन्न नजान्नेले पनि ब्लाष्ट भन्छन् । चाहे त्यो कान्तिपुर होस् या गोरखापत्र ।

पत्रिकालाई जनताको प्रिय बनाउन जस्तो सुकै प्रलोभन र प्रेसरमा पनि झुक्न नहुने उनको भनाई छ । बजार लिन सुरुदेखि नै ब्लाष्टले निर्भिक, निष्पक्षता र पारदर्शिताको नारा बोकेको थियो । सेल्फ सेन्सरसिपसहितको पत्रकारिता दिगो हुँदैन भन्ने पक्का भएकोले नै त्यसमा आफूहरुले सम्झौता नगरेको उनको भनाई छ । ‘ब्लाष्ट सुरु भएपछि लुटि ल्यायो, भूटि खायो पत्रकारिता हरायो,’ उनले भने ।

ब्लाष्ट आएपछि विस्तारै अरु पत्रिकाहरु आउन थाले । ६० सालको हाराहारीमा विराटनगरबाट नेपाल समाचारपत्र सुरु भयो । ‘त्यो वेभ मेसिनबाट सुरु गरिएको थियो, पछि कान्तिपुरको प्रेसर थपियो,’ उनले सम्झे । काठमाडौबाट पत्रिकाहरु आउन थालेपछि बिहान चारै बजे ठाउँ ठाउँमा पत्रिका पुर्याउन थालियो । ब्लाष्टले आफ्नो सर्कुलेसन सुधार गर्यो ।

क्षेत्रीय स्तरको सबैभन्दा लोकप्रिय पत्रिका हुनुको कारण ब्लाष्टमाथि दुई तर्फको प्रेसर छ । ‘हामीलाई तल र माथि दुवैको प्रेसर छ, लोकल पत्रिकाको प्रेसर एकातिर छ भने अर्कोतिर राष्ट्रिय पत्रिकाहरु पनि धमाधम आइरहेका छन्,’ कार्की भन्छन् । राष्ट्रिय ब्रोड सिट पेपरहरु आउन थालेपछि ब्लाष्टलाई पनि ब्रोडसिटमा जान दबाब पर्यो । त्यसका साथै रंगीन बनाउनै पर्ने बाध्यता भयो ।

चार पेज निकाल्दा विज्ञापन बढी हुने र आठ पेज निकाल्दा विज्ञापनले नपुग्ने भएपछि कम्पनि खोलेर ६५ सालमा ७० लाख रुपैया खर्च गरेर वेभ मेसिन ल्याइयो । अहिले ब्लाष्ट ब्रोडसिटमा १५ हजार हाराहारी छापिन्छ, पूर्वभरी पुग्छ । ‘डिमाण्ड त धेरै छ, तर हामी धेरै छाप्न सक्दैनौं,’ उनी भन्छन्, ‘किनकी तीन रुपैयामा बिक्रि हुने पत्रिकाको लागि हामीलाई ११ रुपैया खर्च हुन्छ, १० हजार कपीमै हामीलाई दिनको ८० हजार रुपैया बढी घाटा छ ।’

तर ब्लाष्टको यात्रा यहीँसम्म सकिँदैन । अझ नयाँ तरिकाले कसरी पाठकमाझ लाने भन्ने चुनौति छ र त्यसको लागि कार्कीसहितको टिम लागिरहेको छ ।

ब्लाष्टको सर्कुलेसन पूर्वभरी छ । तर विराटनगरमा राम्रो विस्तार गर्न नसकेकोमा कार्की निराश छन् । उनको अनुभवमा विराटनगरमा पत्रिकालाई हेर्ने दृष्टिकोण त्यती राम्रो छैन । पहिले त झन् हिन्दूस्तान टाइम्स, नवभारत टाइम्स जस्ता पत्रिका बढी पढिन्थ्यो । अहिले भने स्थानिय पत्रिकाहरुले राम्रो बजार हिस्सा ओगट्दै आएका छन् ।

अहिले पत्रकारितामा निष्ठा भएका जनशक्तिको अभाव छ । बजार र पाठकबिच अस्वस्थ प्रतिष्पर्धा छ । प्रतिष्पर्धासँगै न्यू मिडियाको प्रचलन आएको छ । उनी भन्छन्, ‘हामी पनि नयाँ शैलीमा जाँदैछौं तर हाम्रो पत्रिका २०–२५ वर्ष अझै बजारमा जमाएर रहन्छ ।’