गृहमन्त्रीका भाइ धरौटीमा छुट्दै, सँगै समातिएका अन्य थुनामा

Newslaya Home

गृहमन्त्रीका भाइ धरौटीमा छुट्दै, सँगै समातिएका अन्य थुनामा

बिहीबार ०२, असोज २०७६

काठमाडौं । फिरौती संकलनमा संलग्न रहेको आरोपमा समातिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित उनलाई एक लाख रुपैया धरौटीमा छाड्न आदेश दिइएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँगै पक्राउ परेका अन्य प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।

मंगलबारै आदेश आउने भनिए पनि वकिल धेरै भएका कराण थुनछेक बहस नसकिएपछि बुधबार मात्रै आदेश आएको हो ।

पक्राउ परेपनि उनी अस्वस्थताको बहानामा बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएका थिए ।

अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको दाबी गरेका थिए भने उनलाई नभेटेको पनि बताएका थिए । अदालतले उनको अपराध पुष्टि हुने पर्याप्त आधार नभेटिएको जनाएको छ ।