उदयपुरमा वर्षाका कारण ३७ घर परिवार विस्थापित

Newslaya Home

उदयपुरमा वर्षाका कारण ३७ घर परिवार विस्थापित

बुधबार ०१, असोज २०७६

उदयपुर । उदयपुरमा वर्षासँगै आएको बाढी र पहिरोका कारण ३७ घरपरिवार विस्थापित भएका छन् ।

सोमबार रातिदेखि भएको भारी वर्षासँगै पहिरो जाँदा उदयपुरको बेलका नगरपालिका–६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । त्यसैगरी बेलका–३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिएका छन् ।

वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए । पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरुको उद्धारका लागि बुधबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काइसकेको छ ।
यस्तै शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको छ ।

स्थानीय नदी तथा खहरेले ९ धौरी, १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति पुर्‍याएको छ । त्यसैगरी ८ को बोप्ताङ्ग खानेपानी योजना, ७ र ८ पर्ने कोठुफेरी–बाग्दा, सोमबारे–मायुङ्ग्टार, लालबजार–बबला–घारे सडकका सडकमा क्षति पुगेको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका ३ को कालीखोलामा आएको बाढीले को.१.च.६४२० नम्बरको मारुती भ्यान बगाएको छ । स्थानीयले भ्यानमा रहेका तीनजनालाई सकुशल उद्धार गरेका छन् ।