नगर पछि नेकपा इटहरीका असन्तुष्ट समुहद्वारा प्रदेश कार्यालयमा पनि तालाबन्दी

Newslaya Home

नगर पछि नेकपा इटहरीका असन्तुष्ट समुहद्वारा प्रदेश कार्यालयमा पनि तालाबन्दी

मङ्गलबार ३१, भदौ २०७६

इटहरी । नेकपा इटहरीभित्र विवाद साम्य हुनुको साटो झन् चर्केको छ । विवाद मिलाउन नेकपा इटहरीलगायतका नेताहरुले पहल गरिरहेपनि विवाद झन् चर्केको छ ।

तीन साताअघि नेकपा इटहरी कार्यालय तालाबन्दी गरेको पार्टीका असन्तुष्ट कार्यकर्ताहरुले नेकपा प्रदेश कार्यालयमा समेत तालाबन्दी गरेका छन् । नगर कमिटि संशोधन लगायतका माग राखेर असन्तुष्ट पक्षले विगत केही समययता आन्दोलन गरिरहेका छन् ।

पार्टी बिधानअनुसार कमिटि नबनेकोभन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेर दबाब दिएको हो । लामो समयदेखि पार्टीमा काम गरेका कार्यकर्ताहरुलाई पाखा लगाइएको उनीहरुको आरोप छ । भीम आचार्यको निर्देशनमा काशिनाथ दंगाललाई नेकपा इटहरीको सचिव बनाएको भन्दै नेकपा इटहरीमा चरम विवाद हुदै आएको छ । खोटाङमा लामो समय राजनीति गरेर केही वर्षअघि इटहरी झरेका दंगालभन्दा योग्य अरु हुँदा हुँदै दंगाललाई सचिव बनाइएको भन्दै पुर्व एमाले वडा नं. ५ का अध्यक्ष वीरेन्द्र गौतमलगायतको समुह असन्तुष्ट छ ।

तर गौतमको समुहलाई नेकपाका जिल्ला तथा प्रदेश तहका नेताहरुलेसमते सहयोग गरेका छन् । असोज ४ गते वृहत कार्यकर्ता भेला गर्ने र पार्टी अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।