‘मेरो विदेश भ्रमणमा महानगरको एक पैसा खर्च छैन’ : मेयर पराजुली (भिडियो अन्तर्वार्ता)

Newslaya Home

‘मेरो विदेश भ्रमणमा महानगरको एक पैसा खर्च छैन’ : मेयर पराजुली (भिडियो अन्तर्वार्ता)

यस्ता छन् विदेश भ्रमणबाट विराटनगरलाई भएका उपलब्धीहरु
सोमबार ३०, भदौ २०७६

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरको रुपमा जिम्मेवारी सम्हालेयता मेयर भीम पराजुलीको चर्चा तीन किसिमले गरिएको छ ।

पहिलो त उनको धार्मिक आस्था चर्चाको विषय बन्यो । खासगरी छठमा घरदेखि खोलासम्म घस्रँदै गएर पुजा गरेको प्रसंग र तस्वीरले चर्चा कमायो । कुनै मेयरले यति श्रद्धा र आस्थापूर्वक धार्मिक गतिविधिमा संलग्न भएको शायद पहिलो अवसर थियो ।

दोस्रो, उनको हक्की स्वभाव र काम गर्ने जुझारुपनको पूर्वमा मात्र नभएर देशैभर चर्चा गर्ने गरिन्छ । महानगरपालिकाको मेयर भएको हिसाबले पनि उनमा हुनुपर्ने सक्रियता छ, त्यसैले महानगरको विकास भइरहेको छ भनेर उनको प्रसंसा गरिन्छ । घुस खान नपर्ने र नखाने मेयरको रुपमा उनको चर्चा छ ।

तेस्रो भने उनको विदेश भ्रमण चर्चाको विषय बन्ने गरेको छ । मेयर भएयता विभिन्न देशहरु उनी घुमेका छन् । भारत, चीन, मलेसिया, अष्ट्रेलिया, जापान, अमेरिकालगायतका देशहरु पुगिसकेका छन् । यति धेरै देशहरु पुग्दा महानगरको बजेट सकियो भनेर केहीले आलोचनासमेत गरेका छन् । तर मेयर पराजुली भने आफू विदेश जाँदा महानगरको एक पैसा पनि खर्च नभएको जिकिर गर्छन् ।

उनले औपचारिक वा अनौपचारिक जुनसुकै भ्रमणमा जाँदा पनि महानगरको पैसा खर्च नभएको जानकारी दिए । उनले विदेशमा कुनै कार्यक्रममा जाँदा आयोजकले र आफैले खर्च व्यहोरेर गएको न्युजलयलाई बताएका छन् ।

‘म एक पैसा आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ,’ उनले भने, ‘मैले भ्रष्टाचार गरेको प्रमाणित भए सार्वजनिक जीवनबाट सन्यास लिन्छु ।’ उनले आफूलाई विश्वास गरेरै नगरवासीले भोट दिएको बताउँदै विश्वास नतोड्ने बताए ।

उनले महानगरको पैसा खर्च नगरी विदेश गएपनि महानगरको काम गरेको बताए । ‘अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा नेपालीहरुसँगको सम्बन्ध विस्तार गर्न पाएँ,’ उनले भने, ‘केही देशहरुसँग विराटनगरको विकास निर्माणको लागि सहयोग प्रस्ताव गर्ने काम गरेँ, त्यसको परिणाम केही समयमै देखिनेछ ।’

उनका अनुसार प्रदेश र संघीय सरकारले विराटनगरको विकासको गतिअनुसार पर्याप्त सहयोग गर्न सक्दैन । ‘यस्तोमा हामीले विदेशी सहयोग नै जुटाउने हो, र म विदेश गएर त्यो काम गरेको छु,’ उनले न्युजलयसँग भने ।

तीव्र विकास

मेयर पराजुलीले विराटनगरको विकास अहिले तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् । शिक्षा र स्वास्थ्यको ग्यारेन्टीसहितको विकासका पूर्वाधारहरु निर्माण भइरहेको बताउँदै उनले अबको केही वर्षमै विराटनगर देशकै सुविधासम्पन्न र सुन्दर नगर हुने दावी गरे । उनले भने,

‘अहिले हेर्दा जताततै भत्किएजस्तो देखिन्छ, हामी बनाउने अभियानमा छौं । ४५ किमि पिच गरेका छौं । नालाको काम भइरहेको छ । ट्रिटमेन्ट प्लान्ट, बस टर्मिनल, तारिणीप्र. कोइराला, शुशीला कोइराला नाटक घर सम्पन्न हुने क्रममा छ । एडीबीको प्रोजेक्टका कामहरु द्रुत गतिमा भइरहेका छन् ।

नगरपालिकाका आन्तरिक स्रोत र योजनालाई पनि द्रुत गतिमा अघि बढाइरहेको छ । शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता छ । एउटा मदरसा र अर्को संस्कृत विद्यालयसमेत लिएर पहिलो वर्ष ५ वटा र दोस्रो वर्ष पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउन योजना बनाएको छ ।

छात्रा विद्यालय अघि बढाउने योजनामा छ ।

हरेक वार्डमा प्राथमिक स्वास्थ्य चौकी र विराटनगर १५ र १९ मा १५ बेडको हस्पिटल र बर्थिङ सेन्टर बनाउने योजना छ । वडा नं. ५ मा नगर स्वास्थ्य केन्द्र बनाइसकेका छौं ।

हामी कसैलाई पनि आर्थिक अभावमा उपचार अभावमा मर्न दिँदैनौं । शिक्षा र स्वास्थ्यमा महानगर ग्यारेन्टी गर्छ ।

पूर्वाधरको सवालमा प्रदेश राजधानी र महानगर भएको हिसाबमा एक वार्ड एक पार्क, विराट राजाको दरबार बनाउन डीपीआर बनाएर काम अघि बढाएका छौं । विराटनगरको वैजनाथपुरमा रहेको क्रिकेट पार्क बनाउन लबिङ गरिरहेको छ ।

शहीद रंगशालामा साफ महिला फुटबल गर्यौं । अब महिला एन्फा लिग पनि विराटनगरमा गर्ने योजनामा छौं । शिक्षा, स्वास्थ्यको हब बनाउने गरी महानगरपालिकाले काम अघि बढाएको छ ।

ठाउँ ठाउँमा इभिनिङ जोन बनाउने, नहरलाई बाइपास रोडमा लिइएर जाने, काहिँ ग्रीनरी गर्ने बारे पहल गरिरहेका छौं । नहरलाई बैकल्पिक सडकको रुपमा लानको लागि टेण्डरमा गइसकेको छ । चक्रपथको लागि ब्लकेजहरु समाधान गर्दै मुद्धा समाधान गर्दै वैकल्पिक सडकको रुपमा लिएर जाने जमर्को गरेको छ । उत्तरमा स्वागत द्वार र गेट, दक्षिणमा ओभरब्रिजसहितको गेट, कन्चनबारी, बरगाछी लगायतका ठाउँमा फ्लाइ ओभर बनाउने योजनामा छौं ।

हामी पूर्ण खाका र समय, भिजनसहित अघि बढीरहेका छौं ।

विराटनगरको बजेटबाट मात्रै सबै योजना सम्भव हुँदैन भनेर प्रदेश र संघीय सरकारसँग आग्रह गरेका छौं । यस्तै जाइकासँग पनि खानेपानीको लागि एक घर एक धाराको लागि पहल गरेर डिपीआरको क्रममा छ ।

वेस्ट टु इनर्जीको लागि कोरियन वातावरण मन्त्रालयको पहलमा ६ करोडको लागतमा निःशुल्क मास्टर प्लान बनाइदिँदैछ । त्यसपछि दाता खोजेर वेस्ट टु इनर्जीमा जाने योजनामा छ ।