'शिक्षा, कृषि र पुर्वाधारमा जोड दिइरहेका छौं' : मनेश चौधरी

Newslaya Home

'शिक्षा, कृषि र पुर्वाधारमा जोड दिइरहेका छौं' : मनेश चौधरी

आइतबार २९, भदौ २०७६

रामधुनि नगरपालिका ४ रामधुनि नगरपालिकाकै एउटा ऐतिहासिक धार्मिक तीर्थस्थल रामधुनि मन्दिर रहेको वडा हो । यो वडाका करिब ८० प्रतिशत जनताहरु कृषि पेशामा आश्रित छन् । कृषिभुमि र ऐतिहासिक धार्मिक तीर्थस्थल भएको यो वडामा जनप्रतिनिधिहरु आएपछि विकासको क्रमले गति पाएको छ । वडाको विकासको अवस्था तथा समस्याहरुको वारेमा यस वडाका वडाध्यक्ष मनेश चौधरीसंग न्युजलयकी सरिता भण्डारीले लिएको अन्तरवार्ताः

आजभोली केमा व्यस्त हुनु हुन्छ ?
आजभोली वडाको विकास निर्माणको कामहरुमा व्यस्त छु । केहि दिन अगाडि आएको बाढीले यस वडामा निक्कै समस्या निम्त्याएको थियो । तिनै समस्याहरु समाधान गर्ने काममा लागि परेका छौं ।

यो वडाको विकासको अवस्था कस्तो छ त ?
समग्रमा हेर्दा वडाको विकास लगभग राम्रो छ । ठाँउ ठाँउमा बाटोहरु विग्रीएका छन्, मर्मत गर्नुपर्ने अवस्था देखिन्छ । हामीले केही नाला बनाउने उद्देश्यले अगाडि बढेको हुनाले थोरधेर बाटोघाटो मर्मत गर्नुपर्ने अवस्था देखिन्छ ।

शिक्षा स्वास्थ्यको क्षेत्रमा चाहीँ कत्तिको विकास गर्नुभएको छ ?
शिक्षा स्वास्थ्यको क्षेत्रमा त हामीले निरन्तर अनुगमन गरि रहेका छौं । विशेष गरेर यो रामधुनी नगरपालिकामा शिक्षा समिति गठन भएको छ । अब सामुदायिक स्कुलको शिक्षाको बिषयमा, पढाइको बिषयमा भन्ने हो भने त यहाँ मात्र नभएर अधिराज्यभरी नै धेरै जसो संकटमा परीरहेका छन् । यसैबेला हामीले यस्तो समस्या समाधान गर्नका लागी सबै तिरबाट साथ सहयोग लिएर हरेक गतिविधि गर्दै आएका छौं ।

वडाको कुन–कुन कुरालाई पहिलो प्राथमिकता दिनुभएको छ ?
विकासको कुरामा पहिला हामीले बाटो त्यसपछि रामधुनी मन्दिरलाई प्रथमिकतामा राखेका छौ । रामधुनी मन्दिरमा पनि तत्काल रामधुनी मुक्तिघाट निर्माण भएसँगै शव दहन को कार्य सुरु भईसकेको छ । विशेष गरेर यो वडाको रामधुनी मूल सडक बैठारदेखि मानपुर, ईक्राइ हुँदै बराहनगरपालिका सिमानासम्म वडाको मातहतमा सडक बिस्तार गर्नुपर्ने भएकाले त्यसमा हामीले विशेष ध्यान दिएका छौँ र दोस्रोमा चाहीँ हाम्रो रामधुनी मूल सडकलाई रामपुराखण्ड, पथ्थरदेबा हुँदै पिडारीसम्म जोड्नको लागि मुख्य योजना बनाएका छौँ ।

यो वडाको मुख्य समस्याहरु के–के हुन् ?
यो वडाको समस्या भनेको गरिबी तथा अशिक्षा हो । यहाँका करिब ८० प्रतिशत जनताहरु कृषि पेशामा आश्रित छन् । त्यसले गर्दा सामान्यतया किसानहरुको अवस्था दयनीय रहेको छ । धेरैजसो हामीमा चेतनाको कमी भएकाले गर्दा विविध चेतनामूलक कार्यक्रम सञ्चालनका निम्ति विशेष गरी शिक्षामा नै जोड दिइरहेका छौँ ।

यो वडाका आगामी योजनाहरु के–के छन् त ?
आगामी आर्थिक बर्षको लागि पनि बजेट विनियोजन भएको छ । हाम्रो वडामा यसपाली धेरैजसो बाटोको दुई साइडमा ड्रेन नाला बनाउने योजना छ । हामीले गत साल काम सुरु गरेका योजनाहरुलाई नै क्रमिक रुपमा अगाडि बढाइरहेका छौं ।

भनेपछि वडाको विकास चाँडो हुनका लागि के आवश्यक छ ?
चाँडो भन्दा पनि हामीले जुनसुकै योजनाहरु क्रमिक रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ । कुनै जादुको छडी भए झैँ गरी झट्टै पनि गर्न सकिँदैन, तर क्रमिक रुपमा हुन्छ । वडालाई ऐतिहासिक धार्मिक तीर्थस्थलको रुपमा परिचित गराएर पर्यटकहरु भित्राउन सक्ने खालका विकास चाँडै गर्न सक्यौँ भने वडा नं. ४ को मात्रै नभएर समग्र रामधुनी नगरपालिकाकै विकासका कुराहरु यसभित्र जोडिन्छन् ।

वडाको विकासका लागि अन्य कुनै निकायहरुसँग पनि पहल गर्नु भएको छ ?
वडाको समग्र विकासको लागि हामीले संघ, प्रदेश दुबैलाई सिफारिस गरेर पठाएका छौँ । हामी अहिले नगरबाट पाउने जुन बजेटहरु छन् । त्यही अनुसार नै हामी अगाडि बढीरहेका छौँ ।

अन्त्यमा तपाई लगायत समग्र वडा समितिमार्फत् वडावासीहरुलाई के भन्न चाहनुहुन्छ ?
समग्र वडाको विकासको लागि एकआपसमा एकजुट भएर अघि बढ्नका लागि सबैमा सहकार्यको लागि अपिल गर्दछु ।