कुकुर कुट्ने महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना

Newslaya Home

कुकुर कुट्ने महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना

शनिबार २८, भदौ २०७६

लण्डन । विश्वका विभिन्न देशहरु पशु यातनालाई गम्भीरतापूर्वक लिन्छन् । इङ्ल्याण्डमा कुकुरलाई यातना दिएको अभियोगमा एक महिलालाई जेल चलान गरिएको छ ।

एक सय भन्दा बढी कुकुरलाई यातना दिएको अभियोगमा इङ्ल्याण्डको एक अदालतले ब्रीडर महिलालाई २१ हप्ता जेल सजाय सुनाएको हो । उनलाई ५० हजार यूरो (६१ लाख) जरिवाना पनि तिराइएको छ।

इङ्ल्याण्डको नर्थमबर्ल्याण्डस्थित बिर्नेस गाउँकी ६२ वर्षीया लिन स्टोकरले आफ्नो घरमा साना पिंजडामा कैद गरेकामध्ये केही कुकुरहरु रोगका कारण निकै नाजुक अवस्थामा पाइएको थियो । लिनले ती कुकुरलाई लामो समय ताजा पानी तथा खानेकुरा बिना नै राखेको पाइएको थियो। उनीविरुद्ध जनावर हिंसाका १६ वटा मुद्दा परेको थियो।

लिन कुकुर व्यापारी हुन्। पछिल्लो समय कुकुर बेच्न उनले ग्राहक नपाउँदा उनको घर कुकुरले भरिएको थियो । ती कुकुरहरुलाई व्यवस्थापन गर्न सहयोग माग्दा नपाएपछि उनी कुकुरप्रति आक्रामक बनेकी थिइन् ।

ती कुकुरमध्ये दुई वटा कुकुरको चिउँडो भाँचिएको र धेरैमा स्पष्ट रोगका लक्षणहरू देखिएको कुरा पुर्पक्षका क्रममा अदालतमा जानकारी गराइएको थियो। उनले एकै पिंजडामा धेरै कुकुरहरु राखेको पनि बताइएको थियो।