हाइड्रोको नाममा जग्गा कारोबार, आयोजनाको लागि बेचेको जग्गा कर्मचारीका नाममा पास

Newslaya Home

हाइड्रोको नाममा जग्गा कारोबार, आयोजनाको लागि बेचेको जग्गा कर्मचारीका नाममा पास

शनिबार २८, भदौ २०७६

संखुवासभा । संखुवासभामा निर्माणाधिन इसुवाखोला हाइड्रोपावरलाई दिएको जग्गा आयोजनाका कर्मचारीको नाममा दर्ता भएको पाइएको छ । मकालु गाउँपालिका १ मा निर्माणाधीन उक्त आयोजनाको लागि स्थानियले बेचेको भन्दा बढी मूल्य कायम भएर जग्गा रजिष्ट्रेसन पास भएको प्रमाण भेटिएको हो ।

स्थानियले प्रतिरोपनी दुई लाख रुपैया मुआब्जा लिएर दिएको जग्गा आठ देखि १० लाख मूल्य निर्धारण गरेर मालपोतमा दर्ता भएको भेटिएपछि स्थानीयले विरोध जनाएका छन् । आयोजनाको लागि भनेर जग्गा दिएपनि व्यक्तिको नाममा उक्त जग्गा फेला परेको हो । मालपोतमा हेर्दा धरान १ का जितेन्द्र श्रेष्ठको नाममा जग्गा पास भएको पाइएको स्थानियले गुनासो गरे । उनी आयोजनाका फिल्ड म्यानेजर हुन् ।

मकालु १ मा ९७.२ मेगावाटको इसुवाखोला हाइड्रोपावर हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले निर्माण गरिरहेको छन् ।
हाइड्रोलाई दिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको पछि स्थानीयले केही दिन अघि जिल्ला प्रशासन कार्यालय खाँदबरी र जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

आयोजनाले स्थानीयलाई पाखोबारीको प्रतिरोपनी एक लाख ५० हजार र बारीको प्रतिरोपनी २ लाख र मुआब्जा दिएको थियो । तर उता जग्गा मालपोत कार्यालयमा हेर्दा प्रतिरोपनी ८ देखि १० लाखसम्ममा व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरेको पाइएको थियो । आफूहरुलाई ढाँटेको भन्दै स्थानीयले अदालत जाने चेतावनी दिएका छन् ।

हाइड्रोले स्थानीयलाई एउटै स्थानमा भएको जग्गालाई फरक फरक मूल्य दिएकोसमेत आरोप छ । मकालु गाउँपालिकाको आमराङदेखि इसुवाखोलासम्म सडकको मुआब्जा प्रतिरोपनी एक लाख दरले दिने भनिए पनि कतिपयले अझै मुआब्जा नपाएको बताएका छन् ।

कम्पनिले सार्वजनिक सुनुवाइ नगरेको, इआइए नेपाली भाषामा प्रस्ट पारेर स्थानीयलाई नबुझाएको र सडकले काटेको जग्गाको मुआब्जा नदिएको मकालु समाजका अध्यक्ष नुर्व शेर्पाले गुनासो गरेका छन् । स्थानीयको माग तत्काल सम्बोधन नभए निर्माण कार्य ठप्प पार्न अध्यक्ष शेर्पाको भनाइ छ ।