तीन करोड ३० लाखको लागतमा दुहबीमा नमूना विद्यालय बन्दै

Newslaya Home

तीन करोड ३० लाखको लागतमा दुहबीमा नमूना विद्यालय बन्दै

शुक्रबार २७, भदौ २०७६

इनरुवा । सुनसरीको दुहबीमा तीन करोड ३० लाखको लागतमा एकेडेमीक भवन बन्ने भएको छ ।

दुहबी नगरपालिका ५ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको नयाँ शैक्षिक एकेडेमीक भबन निर्माण हुन लागेको हो ।

भवन निर्माणका लागि शुक्रबार एक कार्यक्रमका बिच दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शिलान्यास गरेका छन् । नगर प्रमुख गच्छदारले बहु वर्षिय योजनामा रहेको नमुना विद्यालयको लागि ३३ करोडको महत्त्वकान्क्षी योजनाको बारेमा समुदायलाई जानकारी गराए ।

नमुना विद्यालयको शैक्षिक भौतिक र ब्यवस्थापकिय पक्षलाई उच्च स्तरको बनाउनका लागि मेयर गच्छदारले आफ्नो पहलमा ४ तल्ले अत्याधुनिक स्तरको भबन सहित गुणस्तरिय शिक्षाका लागि उच्च विद्यालयको अवधारणा सहित छात्राबास बनाउने योजना रहेकोले शैक्षिक विकासमा फड्को मार्ने बताए ।

नमुना विद्यालय पञ्च वर्षिय गुरु योजना अन्तर्गत ३ करोड २९ लाख ८९ हजार ३ सय रुपियाँमा बन्ने भबनको शाह र ब्राइट बुल जेभी इनरुवा १ ले ७ ब्लक मध्ये १ ब्लकको १ बर्ष भित्र भबन निर्माण पूरा गर्ने गरि ठेक्का पाएको छ ।

नमुना विद्यालयको भवन निर्माणका लागि डेढ करोड संघीय सरकारबाट बाँकी लागत दुहबी नगरपालिकाको रहनेछ । संघीय सरकारको डेढ करोडबाट शैक्षिक ब्यवस्थापनका लागि ५१ लाख ५० हजार रुपियाँ श्री सरस्वती माविको खातामा पहिलो किस्ता हुने गरि जम्मा गरिएको छ ।