उर्लाबारीमा मेयरले लगाए अधिकृतको क्वाटरमा ताला

Newslaya Home

उर्लाबारीमा मेयरले लगाए अधिकृतको क्वाटरमा ताला

शुक्रबार २७, भदौ २०७६

इटहरी । उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा ताला लगाइदिएका छन् ।


प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले उर्लाबारी छाडेपछि मेयर फागोले उनको क्वार्टरमा ताला लगाइदिएका हुन् ।

स्रोतकाअनुसार नगर प्रमुख फागो र रेग्मीबीच बिहीबार सामान्य भनाभन भएको थियो । त्यसपछि असुरक्षित भएको भन्दै रेग्मीले उर्लाबारी छाडेका थिए ।

उनले मेयरबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् ।

मेयर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादसँगै उर्लाबारी नगरपालिकामा एक महिनादेखि काम ठप्प थियो । कोरम नपुर्‍याइकन नगरसभा बोलाएको विरोधमा भण्डारीसहित १३ जना नगर कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि नगरको काम हालसम्म सूचारु हुन सकेको छैन ।