सुकुना बहुमुखी क्याम्पसमा दारीग्याङको मोटिभेसन ट्रेनिङ सम्पन्न

Newslaya Home

सुकुना बहुमुखी क्याम्पसमा दारीग्याङको मोटिभेसन ट्रेनिङ सम्पन्न

–प्रमोद गेलाल
शुक्रबार २७, भदौ २०७६

विराटचोक । दारीग्याङ सुन्दरहरैँचाले सुकुना बहुमुखी क्याम्पसमा सुपर लर्निङ, मोटिभेसन र मेडिटेसन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

मनोक्रान्तिका योगी नवराज छमले सहजिकरण गरेको तालिममा करिब ३ सय विद्यार्थी सहभागी भए । विद्यार्थीहरूको व्यक्तित्व तथा क्षमता विकासका साथै अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक दिने सुपर लर्निङ, मोटिभेसन र मेडिटेसन तालिम सञ्चालन गरेको दारी ग्याङ्ग सुन्दरहरैंचाका सचिव उमेश सेन्चुरीले बताए ।

विभिन्न दाताहरुबाट सहयोग संकलन गरि विद्यार्थीहरुका लागि निःशुल्क तालिम सञ्चालन गरिएको उनले जानकारी दिए । तालिमका क्रममा प्रशीक्षक छमले अध्ययन गर्दा कसरी याद गर्ने भनेर विद्यार्थीहरुलाई नै अभ्यास गराएर समेत प्रत्यक्ष देखाएका थिए ।

तालिम सञ्चालन गर्नु अघि एक औपचारिक कार्यक्रम गरि तालिमको उद्घाटन गरिएको थियो । प्रदेश सभा सदस्य राजकुमार ओझाको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन कार्यक्रममा, सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, कोशीहरैचा उद्योग बाणिज्य संघ अध्यक्ष नवराज चापागाईं, महासचिव सन्तोष वान्तवा, सुकुना क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष गोपाल थापा, इन्द्रपुर खानेपानी उपभोक्त समतिका अध्यक्ष केदार गुरागाईं लगायतको उपस्थिती थियो ।

विभिन्न समाजिक काम गर्ने दारी ग्याङ्गको सिद्धान्त अनुसार दारी ग्याङ्ग सुन्दहरैंचाले पनि यस्ता खाले कार्यक्रम सञ्चालन गर्दै आएको दारी ग्याङ्ग सुन्दरहरैचाका अध्यक्ष केशव वास्तोलाले जानकारी दिए ।

आगामी दिनमा पनि युवा तथा समाजलाई फाइदा हुने अन्य कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष वास्तोलाले बताए । दाह्री ग्याङ्ग सुन्दरहरैचाले यसअघि इटहरीकी मेनेन्जाइटिस रोग पिडित अनिशा सापकोटाको लागि रकम संकलन गरी १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । दाह्री ग्याङ्गमा हाल १ लाख ३ हजार भन्दा बढी दाह्री पालेका र नपालेका देशभरका युवाहरू जोडिएका छन् ।