ब्लुबुक नवीकरणको जरिवाना घट्यो

Newslaya Home

ब्लुबुक नवीकरणको जरिवाना घट्यो

शुक्रबार २७, भदौ २०७६

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिवाना घटाएको छ ।

सरकारले पहिले तय गरेको शतप्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ । आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिवाना लाग्ने ऐनको दफा १७६ को ‘घ’मा व्यवस्था गरिएको थियो । सोही दफा संशोधन गरिएको हो ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यो मिति नाघेपछि पहिलो ३० दिनका लागि पाँच प्रतिशत जरिवाना लिइन्छ भने त्यसपछिको ४५ दिनसम्म १० प्रतिशत र त्यसपछि सो आर्थिक वर्षको अन्तसम्मलाई २० प्रतिशत जरिवाना लिने व्यवस्था छ ।

त्यसछिको ५ वर्षसम्म प्रत्येक आर्थिक वर्षको लागि सवारीसाधन कर रकमको ३२ प्रतिशतको दरले जरिवाना तिर्नुपर्ने छ ।