गुगल म्याप्सले २२ वर्षअघि हराएका व्यक्तिको अवशेष फेला पार्‍यो

Newslaya Home

गुगल म्याप्सले २२ वर्षअघि हराएका व्यक्तिको अवशेष फेला पार्‍यो

शुक्रबार २७, भदौ २०७६

बिबिसि । दुई दशकअघि हराएका एक व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ । विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए । त्यतिबेला उनी ४० वर्षका थिए ।

एउटा नाइट क्लब गएका उनी घर फर्केनन् । लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन । २२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो ।

गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्‍यो । त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो ।

सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका हुन् ।

‘आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो । तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,’ चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ ।

गुगल म्याप्समा अझै पनि चाँदी रङ्गको गाडी तालमा डुबेको देख्न सकिन्छ ।

पामबिच काउन्टीका एक जना अधिकारीले विलियम मोल्डले गाडीमाथि नियन्त्रण गुमाएका कारण गाडी तालमा पुगेको हुनसक्ने अनुमान लगाइएको बीबीसीलाई बताए ।

यसअघि गरिएका प्रारम्भिक अनुसन्धानका बेला गाडी डुबेको हुनसक्ने भन्ने विषयमा कुनै पनि किसिमको प्रमाण फेला परेको थिएन ।

हालसालै पानी चलायमान भएपछि गाडी देखा परेको अधिकारीहरू बताउँछन् । ‘त्यतिअघि के भएको थियो भन्ने कुरा पत्ता लगाउन गाह्रो छ,’ प्रहरी प्रवक्ताले भनिन् ।

‘हामीलाई के मात्र थाहा थियो भने उनी यो धर्तीबाट हराएका थिए र अहिले आएर उनी फेला परेका छन् ।’

हराएको रात मोल्ड क्लबबाट स्थानीय समय अनुसार करिब ११ बजेतिर निस्किएको न्याशनल मिसिङ्ग एन्ड अनआइडेन्टिफाइड पर्सन्स सिस्टमको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रायः शान्त रहने अनि धेरै घुलमिल नहुने स्वभावका मोल्डट क्लबबाट निस्कँदा मादक पदार्थको नसामा भएजस्तो देखिएका थिएनन्। उनी गाडीमा एक्लै निस्केका थिए ।

‘उनी प्रायः मादक पदार्थ सेवन गर्दैन थिए । तर त्यस दिन उनले मदिरा सेवन गरेका थिए,’ रिपोर्टमा उल्लेख गरिएको छ ।

मोल्डले उक्त रात करिब ११ः३० मा आफ्नी प्रेमिकासँग टेलिफोन सम्पर्क गरेका थिए । आफू चाँडै घर पुग्ने बताए पनि उनी त्यसपछि कहिल्यै देखा परेनन् ।

मोल्डको परिवारलाई उनको अवशेष फेला परेको खबर गरिएको छ । तर उनकी प्रेमीकालाई भने खबर गरिएको छ या छैन भनेर खुलाइएको छैन ।