महोत्तरी एक किशोरीमाथि सामूहिक बलात्कार

Newslaya Home

महोत्तरी एक किशोरीमाथि सामूहिक बलात्कार

शुक्रबार २७, भदौ २०७६

महोत्तरी । महोत्तरीमा बिहीबार एक किशोरीको सामूहिक बलात्कार भएको छ । प्रहरीका अनुसार सीमावर्ती गाउँपालिका समसी–२ पर्सादेवाडकी १६ वर्षीया किशोरीलाई डरत्रास देखाई चार जना पुरुषले बलात्कार गरेका हुन् ।

गाउँदेखि दक्षिण खुलामा शौच गर्न गएको मौकामा चारै जनाले उनलाई नियन्त्रणमा लिएका थिए । प्रतिवाद गर्न खोज्दा मुख थुनेर घिसार्दै धान खेतमा लगेर जबरजस्ती गरेको पीडितले प्रहरीमा बयान दिएकी छन् ।

घटनालगत्तै रुँदै–कराउँदै अस्तव्यस्त अवस्थामा गाउँ पुगेकी उनको रक्तश्राव भइरहेको थियो । परिवार र गाउँलेले जिज्ञासा राखेपछि किशोरीले बलात्कारबारे जानकारी गराएकी थिइन् ।

बलात्कारी चार जना मध्ये दुई सोही गाउँका भएकाले आफूले पहिचान गरेको र बाँकी दुईलाई भने चिन्न नसकेको पीडितले बताइन् । पहिचान गरिएका दुई जना उनको नातामै पर्छन् । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ परीक्षण गराई पीडितको बयानको आधारमा चारै जनाको खोजी भइरहेको बताए ।

किशोरीको स्वास्थ परीक्षण रिपोर्ट प्रहरीले प्राप्त गरिसकेको छ भने भेजाइनल स्वाव परीक्षणका लागि केन्द्रीय प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइको छ ।