व्यवहार टार्न सहकारी चलाउनेका कारण लाखौं बचतकर्ताको लगानी जोखिममा छ : अमृता सुब्बा (भिडियो अन्तर्वार्ता)

Newslaya Home

व्यवहार टार्न सहकारी चलाउनेका कारण लाखौं बचतकर्ताको लगानी जोखिममा छ : अमृता सुब्बा (भिडियो अन्तर्वार्ता)

शुक्रबार २७, भदौ २०७६

इटहरी । व्यक्तिगत आवश्यकता पुरा गर्न खोलिएका सहकारीहरुको भविष्य राम्रो नभएको इटहरीस्थित महिला बचत सहकारीकी अध्यक्ष अमृता सुब्बाले बताएकी छिन् । उनका अनुसार त्यस्ता सहकारी चलाउनेहरुका साथै खाता खोल्ने र शेयर जम्मा गर्नेहरुको पुँजी पनि जोखिममा रहेको उनले बताइन् ।

विधि, नियमअनुसार नचल्ने र चल्न पनि नचाहने सहकारीहरु चाँडै बन्द हुने उनले बताइन् । ‘सहकारीसँगै त्यहाँ निक्षेप जम्मा गर्नेहरुको पनि बिजोग हुन्छ,’ नेफ्सकुनको निवर्तमान उपाध्यक्ष समेत रहेकी सुब्बाले भनिन्, ‘त्यसैले नियम र विधिअनुसार चल्नुकाु विकल्प छैन ।’ उनले धेरै सहकारीहरुको अवस्था राम्रो नभएको बताइन् । सानो लगानी पनि गर्न नसक्ने अनि लगानी उठाउन नसक्ने अवस्थामा रहेको उनको भनाई छ ।

उनकाअनुसार नेपाल सरकारले पछिल्लो समय सहकारीलाई कडीकडाउ गरिरहेको र यो सहकारीकै लागि राम्रो कुरा रहेको बताइन् । ‘हिजोसम्म सरकारले अनुगमन गर्न सक्ने अवस्था थिएन, नियम लागु गर्न पनि अस्थिर सरकारको कारण सम्भव थिएन,’ उनले भनिन्, ‘घरायसी व्यवहार टार्न र आफ्नो व्यापार व्यवशायलाई सहयोग हुन्छ भनेर खोलिएका सहकारीहरु चाँडै बन्द हुनेछन् ।’

उनले धेरै थोरै संस्थाहरुले राम्रो तरिकाले काम गरिरहेको तर धेरै संस्थाहरुको अवस्था भद्रगोल रहेको बताइन् ।

उनले नेपालभरका ३४ हजार सहकारीलाई आधामा झार्ने गरी मर्ज लगायतका विकल्प सरकारले ल्याएको जानकारी दिइन् । उनले आसपासका सहकारीहरुलाई महिला बचत सहकारीमा मर्जको लागिसमेत आह्वान गरेकी छिन् । ‘हामी मर्ज गर्न तयार छौं, अब मिलेर जाऔं,’ उनले भनिन् ।