मलेसियाको रोजगारी खुल्यो, सित्तैमा जान पाइने

Newslaya Home

मलेसियाको रोजगारी खुल्यो, सित्तैमा जान पाइने

शुक्रबार २७, भदौ २०७६

काठमाण्डौ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएसँगै रोजगारी खुलेको हो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाले गर्ने भएका छन् । सरकारले सूचीकृत गरेका १ सय २२ मध्ये तत्काललाई ३६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि मान्यता दिने र बाँकी स्वास्थ्य संस्थाको अनुगमन पनि मलेसियाले छिटै गर्ने सहमति भएको हो ।

यस्तै सेक्युरिटी गार्डका सन्दर्भमा नेपालले छुट्टै ‘जी टू जी’ गर्ने प्रस्ताव राखे पनि मलेसियाले गएको कात्तिकमा भएको समझदारी अनुसार नै ल्याउन सकिने बताएको र समझदारी अनुसार नै पठाइने छ ।

प्रविधिक कमिटीको छलफलमा घरेलु कामदारका विषयमा पनि छलफल भएको तर अहिले नै पठाउने विषयमा भने सहमति नभएको बताइएको छ ।

कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर पनि जान पाउनेछन् भने म्यानपावर व्यवसायीले पनि कामदार पठाउनका लागि मलेसियामा कामदारको माग खोज्न सक्नेछन् । म्यानपावर व्यवसायीले माग ल्याएमा नेपाली नियोगले अब प्रमाणीकरणको काम गर्नेछ ।

यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ ।