भ्रम छरेको भन्दै सदस्य पुष्प अधिकारीविरुद्ध क्यानको विज्ञप्ती, कारवाहीको समेत चेतावनी

Newslaya Home

भ्रम छरेको भन्दै सदस्य पुष्प अधिकारीविरुद्ध क्यानको विज्ञप्ती, कारवाहीको समेत चेतावनी

बिहीबार २६, भदौ २०७६

इटहरी । कम्प्युटर सेवा सञ्चालकहरुको छाता संगठनको रुपमा स्थापित कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) सुनसरीमा यतिखेर विवाद देखिएको छ ।

भर्खरै सम्पन्न अधिवेशनबाट विशाल बाँस्तोलाको अध्यक्षतामा नयाँ समिति बनाएको क्यान सुनसरीमा विवाद र मिडियावाजी हुन थालेपछि क्यान सुनसरीले विज्ञप्ती नै जारी गरेको छ । उसले निःवर्तमान सचिव तथा वर्तमान कार्यसमिति सदस्य पुष्प अधिकारीको कार्यशैलीको आलोचना गरेको छ ।

मृत सदस्यले मतदान गरेको भन्दै अधिकारीले मिडियामार्फत् भ्रम फैलाएको भन्दै विज्ञप्तीमै किटेर उनको आलोचना गरिएको हो । मृत व्यक्तिको नाम नामावलीमा भएपनि भोट भने नदिएको विज्ञप्तीमार्फत् स्पष्ट पारिएको छ ।

अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएको, मनोनयन गर्ने, उम्मेदवारी फिर्ता गर्ने, दावी विरोध गर्ने समय समाप्त भएको भोलिपल्ट आफुले हार्ने निश्चित भएपछि अध्यक्ष उम्मेदवार त्यागेको भएपनि अपव्याख्या गरी मिडियामा भ्रामक सुचना दिएको आरोप लगाइएकोछ ।

अधिकारी सचिव रहँदा पदको दुरूपयोग गरेको समेत विज्ञप्तीमा आरोप छ । ‘केही उम्मेदवारलार्इ जबरजस्ती हस्ताक्षर गराई अवैधानिक तरिकाले व्यक्तिगत तर्फको सदस्य पदमा मनोनयन गरी अन्य २ व्यक्तिगत सदस्यलार्इ उम्मेदवार फिर्ता गर्न दवाब दिएको र निर्विरोध गर्ने कोशिष गरेपछि सो कुराको साधारणसभामा बिरोध हुँदा निर्वाचन स्थगन भएको र पछि समझदारीमा अधिकारीलाइ जिल्ला शाखा कार्यससिती सदस्य स्वीकारेको’ विज्ञप्तीमा उल्लेख छ ।

चुनाबमा जान अधिकारीले इन्कार गरेपछि सर्वसम्मतीको लागि एक दिन समय थप गरेपनि नभएपछि बहुमतका आधारमा कार्यसमिति चयन गरिएको उल्लेख छ । पुष्प अधिकारी र भगिरथ राजबंशीले दावी गरे अनुरूपको पद नपाएपछि विवाद भएको र सोही विषयमा अधिकारीले भ्रम छरेको आरोप लगाइएको छ । क्यान सुनसरीले भ्रम फैलाएको भन्दै अधिकारीलाई कारवाहीको चेतावनीसमेत दिएको छ ।

क्यान सुनसरीको गत भदौ २१ गतेदेखि २३ गतेसम्म भएको अधिवेशनले उपाध्यक्षमा खड्गप्रसाद ओझा, सचिब टिकाराम न्यौपाने, सहसचिव सुरेशचन्द्र दाहाल कोषाध्यक्ष महेन्द्र गुरागाँइ, सदस्यहरु पुष्प अधिकारी, अनिश भट्टराई, भगिरथ राजबंशी र दीपनारायण यादव सदस्य निर्बाचित भएका छन् ।