अबको तीन दिनसम्म पानी पर्ने सम्भावना

Newslaya Home

अबको तीन दिनसम्म पानी पर्ने सम्भावना

बिहीबार २६, भदौ २०७६

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकाले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम सुरु भएकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति पनि देशभरि केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै शनिबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।