कानुन व्यवसायी नभएपछि रवि लामिछानेको सुनुवाई स्थगित

Newslaya Home

कानुन व्यवसायी नभएपछि रवि लामिछानेको सुनुवाई स्थगित

बिहीबार २६, भदौ २०७६

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भदौ २६ गते आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदन माथि आज सुनुवाई हुने बताइएको थियो ।

तर, लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आज देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भन्दै हेटौंडा इजलासमा निवेदन दिएका थिए । आफु उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गर्न निवेदन दिएपछि पेशी स्थगित भएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए । न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको छ ।

पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार कँडेल र अस्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास भदौ १८ गते पुगेका थिए ।