सीपीएलमा तीन विकेट लिँदै सन्दीप बने ‘म्यान अफ द म्याच’

Newslaya Home

सीपीएलमा तीन विकेट लिँदै सन्दीप बने ‘म्यान अफ द म्याच’

बिहीबार २६, भदौ २०७६

काठमाडौ । क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै म्यान अफ द म्याच बनेका छन् । बारबाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा तीन जना ब्याट्सम्यानलाई आउट गरेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

उसका लागि लेनिको बाउचरले अविजित ६२ रनको योगदान दिए भने जनसन चार्ल्सले ५२ रन जोडे । यस्तै जेपी डुमिनीले ४३ रन बनाए ।

१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सको इनिङ्स १५ ओभरमा जारी रहँदा मैदानमा वर्षा भएपछि केहीबेर खेल पनि रोकिएको थियो ।

सन्दीपले १३औं ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका थिए । पहिलो बलमा ब्रुक्सलाई सन्दीपले क्याचआउट गराउँदै व्यक्तिगत पहिलो सफलता हात पारे । दोस्रो बलमा लाउरी इभान्सले दुई रन लिए ।

तेस्रो र चौथो बलमा कुनै रन भएन । पाँचौं बलमा इभान्सले चौका प्रहार गरे । तर, सो ओभरको अन्तिम बलमा इभान्सलाई सन्दीपले क्याचआउट गराए ।

१५ औं ओभरमा सन्दीपले कार्लोस ब्राथह्वाइटको विकेट लिए । यसैबीच सन्दीपको टिम १० रनले विजयी भएको थियो ।