झापामा काठ तस्करले वन समितिका पदाधिकारीलाई खुकुरीले हाने

Newslaya Home

झापामा काठ तस्करले वन समितिका पदाधिकारीलाई खुकुरीले हाने

बिहीबार २६, भदौ २०७६

भद्रपुर । काठ तस्कर वन समितिका पदाधिकारीमाथि खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइते हुनेमा कनकाई नगरपालिका २ बस्ने ३२ वर्षीय डम्बर बहादुर राई, सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर पौडेल र ३६ वर्षीय विनोद राई छन् ।

डीएसपी महेन्द्र श्रेष्ठका अनुसार तीनै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

कनकाई नगरपालिका २ स्थित घनुषकोटी भन्ने ठाउँमा काठ तस्कर समूहले इलामको तीरबाट काठ तस्करी गरी ल्याउँदै गर्दा सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले थाहा पाएका थिए । काठ नियन्त्रणका लागि बुधवार साँझ ८ बजे गएका उनीहरुबिच झडप हुँदा खुकुरीले हानेका थिए ।

खुकुरी प्रहार गर्ने काठ तस्कर समूहको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।