रक्सीको मातलागेपछी झापामा प्रेमिकाको हत्या

Newslaya Home

रक्सीको मातलागेपछी झापामा प्रेमिकाको हत्या

बुधबार २५, भदौ २०७६

झापा । झापामा एक व्यक्तिले रक्सीको मातमा दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् ।

हत्या गर्नेमा झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडाल रहेका छन् । उनले दुई वर्षदेखि आफूसँगै राखेकी अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेका हुन् । हत्या गरिएकी उक्त महिलाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

महिलाको हत्यापछि फरार रहेका चुँडाललाई इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ ।

महिला गत शनिवार बिहान रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नीलडाम र चोटपटक रहेको अवस्थामा अचेत अवस्थामा भेटिएकी थिइन् ।

स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए ।

शुक्रवार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्‍काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार दुई वर्षअघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ ।

प्रहरीकाअनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड हो भनेर आफूलाई सुनाएको हत्यामा संलग्न पुण्यले बताए पनि नाम र ठेगाना यकिन भएको छैन ।

पक्राउ परेका पुण्यविरुद्ध बुधवार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।