इटहरीमा चार दिन सम्म भव्यताका साथ संविधान दिवस मनाइने

Newslaya Home

इटहरीमा चार दिन सम्म भव्यताका साथ संविधान दिवस मनाइने

बुधबार २५, भदौ २०७६

इटहरी । इटहरीमा चार दिन सम्म भव्यताका साथ संविधान दिवस मनाइने भएको छ ।

असोज १ देखि ४ गते सम्म संविधान दिवस मनाउन इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उपमहानगरले आयोजना गरेको सर्वपक्षीय बैठकले मूल समारोह समिति गठन गरेको हो । बैठकले संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न कार्यक्रमहरू तय गरेको छ ।

ती सबै कार्यक्रममा सक्रियतापूर्वक सहभागिताका लागि मेयर चौधरीले नगरवासीमा आग्रह गर्नुभएको छ । असोज १ गते इटहरी चौक र वडाका मुख्य बजारहरूमा वृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ । असोज २ गते नागरिक समाज,उद्योग वाणिज्य सङ्घ,पत्रकार र नगरपालिका बिच मैत्रीपूर्ण फुटसल खेलिने भएको छ ।

असोज ३ गते विभिन्न जातजातिको झाँकी सहित वृहत् प्रभातफेरीको कार्यक्रम तय गरिएको छ । असोज ३ गतेनै रक्तदान,निःशुल्क रक्तचाप र मधुमेह परीक्षण गरिने छ । यसै गरी हाजिरी जवाफ,वक्तृत्व कला र निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ । सबै विद्यालयहरुमा चार दिन सम्म विद्यार्थीहरूलाई संविधानको महत्वको बारेमा सम्बन्धित विद्यालयले जानकारी गराउने भएका छन् ।

मायाँघरका सुत्केरीहरुलाई पोषणयुक्त खाद्यान्न र कपडा वितरण,अनाथ आश्रमका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धाश्रममा फलफुल वितरण गरिने छ । त्यसैसरि एउटा सिमान्तकृत समुदाय बसोबास गर्ने विपन्न बस्तीमा कार्यक्रम गरी त्यहाँका बालबालिकालाई शैक्षिक सामाग्री र पोशाख वितरण गरिने भएको छ ।

इटहरीका रेडियोहरुमा संविधानदिवसका अवसरमा अन्तर संवाद कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ । असोज तीन गते संविधानदिवसको मूल कार्यक्रम सहित पुरस्कार वितरण गरिने छ । सरकारी कार्यालय र घर घरमा दीपावलीका लागि उपमहानगरले आग्रह गरेको छ ।