ताप्लेजुङको तोक्मे हाटमा तोकीए भन्दा धेरै कर तिर्न बाध्य डोके व्यापारी

Newslaya Home

ताप्लेजुङको तोक्मे हाटमा तोकीए भन्दा धेरै कर तिर्न बाध्य डोके व्यापारी

बुधबार २५, भदौ २०७६

ताप्लेजुङ । फुङलिङ नगरपालिकामा भुँइमा सामान फिँजाएर व्यापार गर्ने खुद्रा व्यापारी नगरपालिकाले तोकेको भन्दा बढि रकम तिर्न बाध्य छन् । २०७६ असार १० गते प्रकाशित गरेको राजपत्रको अनुसूची ८ दफा ९ सँग सम्बन्धित बहाल, बिरौटी करमा भुँइमा सामान फिँजाई बिक्री गर्नेका लागि २० रुपैयाँ कर तोकेको छ । तर धेरै खुद्रा व्यापारी भने ३० रुपैयाँ तिर्न बाध्य भएका हुन् । नगरपालिकाले दिने नगदी कर रसिदमा रकम बुझ्नेले हस्ताक्षर नगर्ने र पूर्ण विवरण पनि नखुलाउने गरेको पाइएको छ ।

नगरपालिकाले भुइँमा फिँजाएर र डोकोमा राखेर बिक्री गर्नेलाई जनही २०, टहराभित्र प्रतिब्लक एक सय, ठेलामा ३०, चारचक्केमा ७५, भुइँमा फिँजाएर जुत्ता चप्पल बिक्री गर्नेलाइ ५० रुपैयाँ कर निर्धारण गरेको छ । हाँस, कुखुरा ठूलो प्रतिगोटा ३० र सानो १५, खसी, बोका, भेंडा, च्यांग्रा प्रतिगोटा २ सय कर निर्धारण गरेको छ । कर उठाउनेले भने साना व्यापारीलाई पनि ठूलो भन्दै जबर्जस्ती पैसा लिने र रसिद भिडाउने गरेको गुनासो छ ।

सातामा दुई दिन शनिबार र मंगलबार लाग्ने हाटमा सामान बिक्रीका लागि तेह्रथुमको आठराईदेखिका किसान आउँछन् । क्रेतासँग सिधै कारोबार हुने र बिचौलियालाई खुवाउनु नपर्ने भएकाले आफैंले सामान लिएर आएको उनीहरू बताउँछन् । थाप्लो कुच्याएर सामान बिक्रीका लागि आउने किसान सदरमुकाममै स्थानीय ठेकेदारबाट ठगिइरहेको बताउँछन् ।

नगरपालिकाका उप–प्रमुख बमबहादुर भट्टराई आफूले पनि यो गुनासो सुनेको र शनिबार बजार अनुगमन गर्ने बताउँछन् । डोकोमा सामान बिक्री गर्नेहरूले गत फागुनदेखि नै ३० रुपैयाँ तिरेको दाबी गरेका छन् ।