'सहयोग गर्नुहोस्, पाँच वर्षमा वडालाई बजारोन्मुख बनाउनेछौं'

Newslaya Home

'सहयोग गर्नुहोस्, पाँच वर्षमा वडालाई बजारोन्मुख बनाउनेछौं'

बुधबार २५, भदौ २०७६

सुनसरीको रामधुनी नगरपालिका १ रामधुनिमै सबैभन्दा बढि मानिसको बसोबास भएको वडा हो । यो वडाका धेरै समस्याहरु जनप्रतिनिधि आएपछि समाधान हुने क्रममा छन् । विकास निर्माणका काम अघि बढिरहेको छ । वडाको विकासको अवस्था तथा योजनाको विषयमा यसै वडाका वडाध्यक्ष महेश चौधरीसँग न्युजलयकी सरिता भण्डारीले लिएको अन्तर्वार्ता :-

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
आजभोली त धेरै समय जनताको सेवा गर्ने कार्यमा नै व्यस्त छु ।

तपाईको वडामा विकासको अवस्था कस्तो छ ?
पहिलेको तुलनामा त यो दुई बर्ष निक्कै नै राम्रो विकास भएको छ । बाटाघाटा, खानेपानी, स्वास्थ्य, शिक्षासम्बन्धी समस्या समाधान हुने क्रममा छन् । सबै क्षेत्रमा लगानी गरेर हामीले निरन्तर रुपमा विकास गरीरहेका छौं ।

विशेष गरि कुन–कुन क्षेत्रमा लगानी गर्नु भएको छ ?
विकासका पूर्वाधारहरु खानेपानी, शिक्षा, स्वास्थ्य, बालबालिकाका हकहितका साथै विभिन्न क्षेत्रगत विकासलाई लक्षित गरेका छौं । नेपाल सरकारको नीति तथा कार्यक्रममा आधारित शीर्षकमा बजेटहरु खर्च गरिरहेका छौं ।

वडाको विकासमा कुन कुरालाई प्राथमिकता दिनुभएको छ ?
हाम्रो पहिलो प्राथमिकता भनेको पूर्वाधार हो । त्यसपछि शिक्षा र बालबालिका । पूर्वाधार अन्तर्गत बाटोघाटो अन्य निर्माणका कामहरु भैहाल्यो त्यसपछि शिक्षामा बालबालिकाको पहुच र स्थायित्वको लागि लागिपरेका छौं । हाम्रो वडामा अधिकांश दलित बस्तीहरु छन् । त्यो दलित बस्तीमा बालबालिकालाई निःशुल्क पढ्न पाउने वातावरण मिलाईरहेका छौं । दलित बस्तीका घर–घरमा गएर हामीले आफ्नो बालबालिकाहरुलाई पढाउनु पर्छ भन्ने सन्देश प्रवाह गरेका छौं । अभियान सुरु गरेपछि ९५ प्रतिशत बालबालिकाहरु स्कुल जान थालेका छन् ।

तपाईको वडाका मुख्य समस्याहरु के–के छन् ?
मुख्य समस्या भनेको बाटाघाटा, खानेपानी, स्वास्थ्य, शिक्षा आदि छन् ।

वडाका कर्मचारीहरुबाट कत्तिको सहयोग मिल्ने गरेको छ ?
निश्चित रुपमा अहिले प्रत्येक वडामा चार जना कर्मचारी खटाएको छ । कर्मचारीले नियमबमोजिम आफ्नो स्वविवेक प्रयोग गरेर हामीलाई साथ दिईरहेका छन् ।

वडाको विकासका लागि कसैसँग आग्रह पनि गर्नु हुन्छ कि ?
स्थानीय तहमा बजेट आईरहेको छ । प्रदेश र संघबाट पनि हामीले पहल गरेर १ नम्बर वडाको बजारक्षेत्रमा रहेको साँघुरो पुल पुनर्निर्माण गर्नको लागि माननीय राजिव कोइरालाबाट २५ लाखको बजेट प्राप्त गरेर पुल बनायौं ।

के भयो भने वडाको विकास चाँडै हुन्थ्यो जस्तो लाग्छ ?
चाँडै विकास गर्नका लागि त हामीले शिक्षामा लगानी गर्नु पर्छ । त्यो साथसाथै स्वास्थ्य, कृषिमा लगानी गर्नुपर्छ । जस्तै आर.एस.डि.सी. ले हाम्रो १ नम्बर वडामा र अरु वडामा पनि समूहगत रुपमा टोली बनाएर लगानी गरेको छ । त्यसबाट कृषकहरुलाई विभिन्न क्षेत्रमा बिउविजन बाँड्ने काम गरिरहेको छ । वडावासीसंग योजना मागेर गाउँघरका समस्या र आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने गरेका छौँ । यसपाली पनि वडामा एक करोड ३७ लाख पचास हजारको बजेट बनाएका छौँ र नगरपालिकाको तर्फबाट थप ३०–४० लाखसम्मको योजना परेको छ । यसरी झण्डै १ करोड ८२ लाखको योजना १ नम्बर वडामा सञ्चालन गर्ने योजना लिएका छौँ ।

अन्त्यमा आफ्नो वडावासीहरुलाई के भन्न चाहनु हुन्छ ?
वडाध्यक्ष जादुको छडि हैन । हामीले पनि पक्रिया पु¥याएर जानु पर्ने हुन्छ । विधिगत रुपमा काम गर्नु पर्ने हुन्छ ताकी भविष्यमा बेरुजुको समस्या नहोस् । तपाईहरुकै समस्याका लागि हामी जनप्रतिनिधि भएर आएका हौँ । तपाईहरुको समस्या हमेसा बुझ्ने छौँ । तपाईहरुको साथ सहयोग भयो भने हामी यो १ नम्बर वडालाई अवस्य ५ बर्षको दौरानमा बजारउन्मुख बनाउने प्रतिबद्धता गर्न चाहन्छु ।