अलिबाबाका संस्थापक अध्यक्ष ज्याक माले दिए राजिनामा, अब के होला ?

Newslaya Home

अलिबाबाका संस्थापक अध्यक्ष ज्याक माले दिए राजिनामा, अब के होला ?

बुधबार २५, भदौ २०७६

बेइजिङ । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मङ्गलबार राजिनामा दिएका छन् ।

अमेरिका–चीन करयुद्धका कारण तनावपूर्ण स्थितीमा उनले एकाएक राजिनामा दिएका हुन् ।

चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरे । अब उनी अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहनेछन् ।

३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरू छान्ने अधिकार राख्दछ । माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए ।

उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजस्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महंगो हुँदै गएको छ । अनलाइन बिक्रीमा पनि सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ ।