काँग्रेसको टार्गेट : धरानको उपनिर्वाचन

Newslaya Home

काँग्रेसको टार्गेट : धरानको उपनिर्वाचन

मङ्गलबार २४, भदौ २०७६

इटहरी । देशका सबै निकायका कम्युनिष्ट सरकारको मनपरी चलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाविरुद्ध लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सुनसरीको इनरुवामा दोस्रो राष्ट्रिय जनजागरण अभियानलाई सम्बोधन गदै पार्टी सभापति देउवाले ओली सरकारले मनपरी गरेको आरोप लगाए । उनले धरानमा हुन लागेको उपनिर्वाचनमा जसरी पनि नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।

उनले ६० वर्ष देखि धरानमा कम्युनिष्टले शासन गरे पनि विकास भने काँग्रेसको पालमा मात्र भएको भन्दै धराने जनतालाई काँग्रेसमा भोट हाल्न आग्रह समेत गरे ।

पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर काँग्रेस जनतामाझ पनि जानुपर्ने बताएका छन् ।

उनले जनमतकै आधारमा काँग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए । धरानमा हुन लागेको चुनावमा गुटउपगुट नभनी चुनावमा होमिन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

उद्योगी विनोद चौधरीले अहिलेको सरकारले व्यवसाय गर्नेहरुलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । उनले अरबौँ लगानी गर्न व्यवसायीहरूलाई राज्यले नाजायज कानुन लगाएर फसाउँने नियत राखेको समेत आरोप लगाएका थिए ।