एसीसी यू–१९ एसिया कपः नेपाल १६० रनले विजयि

Newslaya Home

एसीसी यू–१९ एसिया कपः नेपाल १६० रनले विजयि

मङ्गलबार २४, भदौ २०७६

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयि भएको छ ।

मंगलबार भएको खेलमा नेपालले यूएईलाई १६० रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । सुरुवाती दुई ब्याट्स्म्यान शून्य रनमै गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेको थियो । ओपनर रित गौतम पहिलो बलमै क्याच आउट भएका थिए । त्यस्तै पवन सर्राफले ११ बलको सामना गर्दा रन नबनाई पेभिलियन फर्किए । नेपालका लागि कप्तान रोहित पौडेलले ६७ रन बनाएका थिए ।

कप्तान रोहितसँग ८६ रनको साझेदारी गरेका सन्दीप जोराले ४८ रन जोडे । त्यस्तै रसिद खानले ४४, कमलसिंह ऐरीले ४१ र कुशल मल्लले २२ रन जोडे ।

उता जवाफी ब्याटिङमा उत्रिएको यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सफल भयो । ओपनरद्वय सयद हाइदर र निल लोबो कम रनमै समेटिए पनि तेस्रो नम्बरमा आएका भ्रित्य अरविन्दले आक्रामक ब्याटिङ गर्दै आफ्नो टिमलाई आशा जगाएका थिए । उनले ३४ बलको सामना गर्दै २८ रन जोडे ।

यूएईका एलिसन सराफुले टिमका लागि २१ रनको योगदान गरे । त्यस्तै ओसामा हसनले १६ रन जोडे ।

त्यस्तै बलिङतर्फ नेपालका लागि सागर ढकालले २ मेडन राख्दै ३ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।

त्यस्तै रसिद खान, पवन सर्राफ र सूर्य तामाङले २–२ विकेट लिए । ओपनिङ बलिङ गरेका कमलसिंह ऐरीको नाममा १ विकेट लिए । यसअघि समूह चरणको दुबै खेल गुमाएका दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।