बर्दिबासमा नेकपाका दुइपक्षबिच झडप

Newslaya Home

बर्दिबासमा नेकपाका दुइपक्षबिच झडप

मङ्गलबार २४, भदौ २०७६

काठमाडौँ । बर्दिबासमा शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबिच झडप भएको छ ।

झडपमा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको छ भने अन्य केही घाइते भएको बताइएको छ ।

मङ्गलवार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा माधवकुमार नेपाल पक्षले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेपछि झडप भएको हो ।

यस्तो छ विवादको कारण
घेराबन्दीमा परेको र पार्टीको पद्धतिअनुरूप काम गर्न नपाएको भन्दै केही दिनअघि प्रदेश अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका थिए । तर पार्टी सचिवालयले साहको राजीनामा स्वीकृत गरेन ।

स्रोतले दिएको जानकारीअनुसार वरिष्ठ नेता माधव नेपाल र पार्टीका नेता मातृका यादव मिलेर घेराबन्दी गरेको, कामै गर्न नदिएको उनको आरोप थियो ।

विवादकै कारण जिल्ला कमिटीको शपथ ग्रहण पनि दुईपटक स्थगित भइसकेको छ । मङ्गलवार शपथको तयारी भए पनि नेता नेपाल पक्ष र मातृका पक्षले दुई–चारदिनदेखि नै जिल्लामा भेला, बैठक गरेको र त्यसैले झडपको पृष्ठभूमि तयार गरेको साह पक्षको भनाइ छ ।

बर्दिबास सेवा समितिको हलमा हुलहुज्जत हुन थालेपछि प्रहरी परिचालन गरिएको छ । उत्तेजित कार्यकर्ताहरूले प्रदेश नेतृत्व विरुद्ध नाराबाजी गरेको जनाइएको छ ।