जङ्गबहादुर राणाको सन्तान भन्दै ठगी गर्ने पक्राउ

Newslaya Home

जङ्गबहादुर राणाको सन्तान भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार २४, भदौ २०७६

धनगढी । राणा प्रधानमन्त्री जङ्गबहादुर राणा नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै चर्चित छन् । खास गरी बेलायतसँगको सम्बन्ध र बेलायत भ्रमणपछि उनले नेपालमा गरेको केही कामहरुको कारण उनलाई आँटी र खास नेपाली छोरोको रूपमा पनि केही समूहले चित्रण गर्ने गरेका छन् ।

तर धनगढीमा बसेर एक जना व्यक्तिले आफूलाई जङ्गबहादुर राणाको सन्तति भएको बताउँदै ठगी गर्ने गरेको खुलेको छ । ती व्यक्तिको मिटर ब्याजको जालो र ठगी धन्दाले धेरैको उठीबास लगाएको छ । कयौँले आत्महत्या गरेका छन् ।

थोरै पैसा दिएर झुक्याएर घर जमिन आफ्नो नाममा बनाउने, थोरै पैसा दिएर बढी रकम लिएको भनेर औँठाछाप लगाउने, नक्कली कागजपत्र, लालपुर्जा, नापीको ट्रेस नक्सा बनाएर सम्पत्ति हड्प्ने र विभिन्न प्रलोभनमा पारेर पैसा लुट्ने धेरै गिरोह धनगढीमा सक्रिय छन् ।

अहिले ठगी गर्ने ठुलो गिरोहका सञ्जय राणा पक्राउ परेका छन् । राणालाई उनका सहयोगी दुईजनासहित गत बुधवार पक्राउ गरेको थियो । उनीहरूको गिरोहसँग नेपाल राष्ट्रबैंकका गभर्नर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायतका सामग्री फेला परेका थिए ।

उनीहरूबाट पेस्तोल, रिभल्बर देखि १८ करोड रुपैयाँबराबरको २३ थान तमसुक, २ करोड ४५ लाख २० हजार रुपैयाँबराबरका विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेकहरुसमेत बरामद गरिएको छ ।

राणाले एउटा कोठा भाडामा लिएर आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए ।

पक्राउ परेका राणा डोटीको साबिक केआइसिंह गाउँपालिका तथा तत्कालीन राना गाउँ विकास समिति–९ का तुले रानाका छोरा हुन् । उनले आफूलाई जङ्गबहादुर राणा खलकको भनेर सञ्जयविक्रम राणा भनेर चिनाउँथे । वासुदेवीमा कक्षा १० सम्म पढेका उनले एसएलसी उत्तीर्ण गरेका छैनन् । विद्यालयमा उनको नाम शेरबहादुर राना क्षेत्री थियो । सातआठ वर्ष पहिले आर्थिक अभावबिच रहेका राणाको जीवनशैली पछिल्ला वर्षमा चमत्कारिक रूपमा बदलिएको थियो ।

उनले नगद रकममा कारोबार गर्थे। कुनै पनि तमसुक बनाउनेलगायतको काम आफ्नो नामबाट गर्दैनथे। उनले अर्को नामबाट खोलेको फेसबुक चलाउँथे। दुवै देशका प्रहरी अधिकारीसँगको सम्बन्धका कारण उनले सीमाबाट साना हतियार तथा अवैध सामग्री सजिलै ल्याउने गरेका थिए ।